अन्तर्राष्ट्रिय हाइड्रो एक्स्पो सुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

  २०७४ पुष २१ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको ‘हाइड्रो एक्स्पो-२०१८’ सुरु भएको छ । विद्युत उत्पादन बढाउने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा शुक्रबार काठमाडौं स्थित भृकुटीमण्डपमा एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी छिन् । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई एक्स्पोले विशेष सहयोग पुर्याउने आयोजकको भनाइ छ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायत झण्डै सय वटाभन्दाबढी स्टल रहेका छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको भएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले उद्घाटन कार्यक्रममा बताए ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेका छन् । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता भएको एक्स्पोमा नेपालमा जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान–प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने आयोजकले बताएको छ ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य–मुख्य विषयमा सेमिनार सञ्चालन हुनेछ । शुक्रबार हाइड्रो टनेलिङ, दोस्रो दिन बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु सञ्चालन हुने अध्यक्ष गुरागाइले कार्यक्रममा जानकारी गराए ।

त्यस्तै एक्स्पोमा हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच समेत प्रतिस्पर्धा गरिने आयोजकले बताएको छ । उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.