नेप्से ६०० अंक घटेपनि हामीले घाटा खानु परेन, नाफा नै गर्याै –अम्बिकाप्रसाद पौडेल

  २०७४ पुष १६ गते १०:२३     विकासन्युज

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारमा ट्रेडिङ र इन्भेष्टमेन्ट दुबैमा ठूलो लगानी गर्नुभएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पौडेल अरुण फाइनान्सको अध्यक्ष, चन्द्रगिरी हिल्स लिमिटेड र हिमालय पावर पार्टनर लिमिटेडको सञ्चालक हुनुहुन्छ । पछिल्लो समय उहाँलाई उत्पादन मुलक उद्योगमा रुची बढेको छ । त्यसैले उहाँले पोखरामा न्यू लिङ्क कपि उद्योग सञ्चालन गरिरहनुभएको छ । तर उहाँको विजनेश प्यासन भनेकै पुँजी बजार हो । पछिल्लो समय पुँजी बजारमा निरन्तर गिरावट आएको छ । यसको कारण के हुन् ? सेयरको मूल्य घट्दा लगानीकर्ताले कसरी लगानी सुरक्षित गर्ने र नाफाको प्रयास गर्ने ? प्रस्तुत छ विकासन्युजको नियमित स्तम्भ विकास वहसका लागि प्रधान सम्पादक रामकृष्ण पौडेले उहाँसँग गरेको कुराकानी ।

अम्बिकाप्रसाद पौडेल, प्रबन्ध निर्देशक-हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड

धेरै कम्पनीहरुको नेतृत्वमा हुनुहुन्छ, बढी समय केमा बित्छ ?

अरुण फाइनान्सको अध्यक्ष, चन्द्रगिरी हिल्स र हिमालय पावर पार्टनर लिमिटेडको सञ्चालक मात्र भएकोले ती कम्पनीको दैनिक सञ्चालनमा मैले समय दिनु पर्दैन । दैनिक रुपमा म संलग्न हुने हाथवे इन्भेष्टमेन्टमा नै हो ।

जब मैले २०६६ चैत्र सरकारी जागिर छोडेर पुँजी बजारमा प्रवेश गरेँ तब म निरन्तर पुँजी बजारमा क्रियाशित छु । मेरो रुची पनि पुँजी बजारमा नै छ र सक्रियता पनि यसैमा छ । सेयरको कारोबार हुने दिन विहान ११ बजेदेखि ३ बजेसम्म मलाई कसैले पनि डिस्टर्ब नगरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

तपाई सेयर बजारमा झुम्मिन थालेदेखि अहिलेसम्म भएको आरोह–अवरोह र तपाईको अनुभव कस्तो रह्यो ?

संधै जागिर गरेर हुँदैन, व्यवसायमा लाग्नु पर्छ भनेर मैले सिकेको पुँजी बजारबाट नै हो । यस बजारमा मैले गुमाएको पनि छु, कमाएको पनि छु । यस बजारमा धेरै कुरा सिक्दैछु र पुरै इन्जोई पनि गरिरहेको छु ।

विगत नौ वर्षमा मैले भोगेको आरोह अवरोह साँच्चिकै वर्णनयोग्य पनि छ र कसैले नजिकबाट हेर्छ भने सिक्ने योग्य पनि छ । मैले जे गल्ती गरेँ, अरुले त्यो गल्ती गर्नु पर्दैन, मलाई नजिकबाट हेर्ने हो भने ।

गल्तीले मान्छेलाई परिपक्क बनाउँछ । पहिला म धेरै कुरा जान्दछु भन्ने लाग्दथ्यो । अहिले म धेरै कुरा जान्दिन भन्ने लाग्छ । लगानीकर्ताको मनोविज्ञान नै परिवर्तन भैराखेको हुन्छ । प्रविधिको प्रयोगमा धेरै परिवर्तन आइरहेको हुन्छ । पुँजीबजारको डाइमेन्सनहरुमा व्यापक परिवर्तन आईराखेको हुन्छ । आई रियल्ली लभ टु लर्न । मलाई लाग्दैन म भइङकर जान्ने लगानीकर्ता हुँ । म त सिकारु हुँ ।

व्यवसाय गर्छु भनेर यसभित्र छिर्न जति सजिलो छ, यसभित्र छिरेर सफल हुन धेरै कठिन छ । उत्पादन भएको तयारी वस्तु देख्दा धेरैलाई राम्रो लाग्छ । तर त्यो वस्तु उत्पादन गर्ने क्रममा कति कच्चा पदार्थको अस्तित्व मेटिए, हराए, विलाए भन्ने कुरा हामी ख्याल गर्दैनौं । प्रोसेसिङको पाटो धेरै लामो हुन्छ र त्यसभित्रको बाटो निकै पीडादाही हुन्छ । त्यो पीडा भोगेको व्यक्ति हुँ म ।

हुँदा खाँदाको जागिर छोडेर पुँजी बजारमा छिरेँ । के के न होला भन्ने सोचेको थिए । त्यसपछि पुँजी बजारमा गिरावट हुनु, घरजग्गा कारोबारमा गिरावट हुनु, आफूले नेतृत्व गरेको कम्पनीको नेटवर्थ दिनदिनै नेगेटिभ हुनु, आफूसँग पुँजी बजार र रियलस्टेट बजारमा प्रवेश गरेका साथीहरु टाट पल्टनु र पलायन हुनु मेरा लागि कम पीडादायक थिएन । धेरै कच्चा पदार्थ गुमेर, थोरै तयारी बस्तु उत्पादन भए झै गहिरो पीडाबाट खारिएर म अहिलेकौ स्थितिमा आएको हुँ । प्रोसेसिङको क्रममा मैले धेरै गुमाएको छु ।

तपाईले त्यस संकटबाट सिकेको कुरा के के हुन् ?

म जान्ने छु भन्नु, एकल निर्णय गर्नु, बाटोमा उज्यालो देख्नु तर हिड्दै जाँदा अध्यारो पनि आउन सक्ने भनेर अनुमान पनि गर्न नसक्नु मेरो ठूलो भूल थियो । त्यसैले मैले अहिले एकल निर्णय गर्दिन । उज्यालोमा एक्दै हिड्न सकिन्छ, अध्यारोमा साथीको सहयोग चाहिन्छ । एउटाले मेसो पाएन भने अर्कोले नयाँ आईडिया ल्याउँछ । तर तपाई एक्लै हुनुहुन्छ भने तपाई संकटमा पर्न सक्नुहुन्छ ।

तपाईले पुँजीबजारमा कति गुमाउनु भयो ?

म निजामति सेवामा छँदै पुँजी बजारमा लगानी गर्न थालेको थिएँ, करिव २५ वर्ष भयो मैले सेयरमा लगानी गर्न थालेको । जागिर छोडेर पुँजीबजारलाई व्यवसाय बनाउँदा नेप्से ९०० थियो । पछि नेप्से ११७५ पुगेर २९२मा झर्यो । नेप्से २९२ आउँदा हाथवेले करिव ७५ प्रतिशत लगानी गुमायो । ३० करोड चुक्ता पुँजी भएको हाथवे कम्पनीको नेटवर्थ पुरै नेगेभि भयो । सानिमा बैंकको सेयर २१०० बाट झरेर १९१ रुपैयाँ भयो । एनबी बैंकको सेयर मूल्य १६०० बाट १०० मा झरेको थियो ।

कम्पनीको प्रमोटर धेरै साथी हुनुहुन्थ्यो । तर निर्णय मैले एक्लै गर्दै गए, गल्ती त्यही भयो । मैले जिन्दगीमा सबैभन्दा धेरै हिनताबोध गरेको क्षण थियो त्यो । किनकी मैले मेरो पैसा मात्र गुमाएको, होइन, धेरै साथीहरुको पैसा गुमाएँ ।
जागिर पनि गुम्यो, पैसा पनि गुम्यो, म प्रति साथीहरुको विश्वासमा पनि चोट पुग्यो । जेलाई व्यवसाय बनाउन चाहेको थिए, त्यो पनि चौपट भयो ।

अहिलेकाे अवस्था कस्ताे छ ?

पर्फेक्ट कोही छैन । गल्ती भयो, मैले स्वीकार गरेँ । तर त्यो जटिल परिस्थितिलाई हामीले ट्याक्टफूली ढंगले व्यवस्थापन गर्यौ । अहिले स्थिति सहज भएको छ । कम्पनीको पुँजी ८२ करोड रुपैयाँ छ । बजार पुँजीकरण १५० करोड भन्दा माथि छ । कम्पनीले वार्षिक कम्तिमा १६ देखि ५५ प्रतिशत खुद नाफा गर्न सफल भएको छ । यस कम्पनीले लगानीकर्तालाई औसतमा वार्षिक ३० प्रतिशत लाभांश दिन सफल भएको छ ।

के तपाई सैद्धान्तिक ज्ञानविना नै पुँजी बजारमा होमिनु भएको थियो ?

होइन, सैद्धान्तिक ज्ञान थियो । वारेन बफेट लगायत विश्व पुँजी बजारको चर्चित लगानीकर्ताहरुका बारेमा पनि पढेको थिएँ । तर व्यवहारिक जीवनमा सिद्धान्तलाई विर्सिदो रहेछ । जब मान्छे आफैले एक तहको सफलता हासिल गर्छ, तब ऊ आफै सिद्धान्त बनाउन थाल्छ । आफ्नै दिमागको आधारमा मात्र चल्छ । मैले पनि त्यहि गल्ती गरे । जब मानिस ठक्कर खान्छ तब फेरी सिद्धान्तको सहारा लिन थाल्छ । खासमा सत्य भनेको सिद्धान्त नै हो । सिद्धान्त विर्सनेहरु ठूलो जोखिममा हुन्छन् ।

दैनिक रुपमा सेयर किनबेच सम्बन्धी निर्णय गर्दा सैद्धान्तिक आधारलाई ध्यान दिन सकिन्छ ?

सकिदैन । दैनिक रुपमा हेर्ने भनेको कम्पनीको सूचनाहरु हो । प्राविधिक विश्लेषणलाई हेर्ने हो । आाधारभूत विश्लेषणलाई हेर्ने हो । सेयरबजारलाई प्रभावित पर्ने समाचारहरु हर्ने हो । कम्पनीको आन्तरिक अवस्था कस्तो छ भनेर बुझ्ने हो । तर लगानी नीति बनाउँदा सिद्धान्त र ऐतिहासिक अनुभवलाई आधार मान्ने हो । अल्पकालिन नीति बनाउँदा आफ्नै परिवेशलाई व्याख्या गरेर तयार गछौं । अचेल म एक्लै निर्णय लिन्न । मेरो टिममा म्यानेजमेन्ट, सीए अध्ययन गरेको साथीहरु हुनुहुन्छ । टिममा मैले भन्छु,–‘यो सेयर बेच्यौ, यसका कारण यो यो हुन् । यो सेयर बेचौं भन्छु, यसको आधार यी यी हुन् ।’ त्यसमा साथीहरुले आफ्नो विचार पनि राख्नुहुन्छ र हामी सामूहिक निर्णय लिन्छौं ।

यति धेरै मिहेनत पूर्वक लगानी गर्दा पछिल्ला दिनमा हाथवे इन्भेष्टमेन्ट कम्पनीले कमाईरहेको छ कि गुमाई रहेको छ ?

समग्र रुपमा कमाएका छौं । दीर्घकालिन सोचका साथ लगानी गरिएका कम्पनीहरुको सेयर मूल्य किनेको भन्दा कम भयो भने पनि हामी डराउनुपर्दैन, त्यसमा घाटाको जोखिम ज्यादै कम हुन्छ । त्यसबाट फाइदा नै हुन्छ । अल्पकालिन रुपमा मूल्यमा हुने घटबढका आधारमा गरिने किनबेचमा पनि हामीले फाइदा नै लिएका छौं ।

गत वर्ष नेप्से १८८१ बाट करिव १२०० मा झर्यो । गएको एक महिनामा पनि सेयर मूल्य निरन्तर घटेको छ ? यो अवधिमा नाफा भयो कि घाटा ?

गत आर्थिक वर्षमा नेप्से करिव ६०० अंकले घट्यो । बजारमा यति धेरै गिरावट आउँदा पनि हामीले अफिसको सबै खर्च कटाएर, कर तिरेर लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गर्न पुग्ने गरि नाफा गरेका थियौं । भलै कम्पनीले गत वर्षको नाफा सेयरधनीलाई वितरण नगर्ने निर्णय गर्यो । मूल्य घटिरहदा पनि हामी पछिल्लो साताहरुमा पनि नाफा नै गरेको छौं, घाटा छैन ।

बजार घट्दो अवस्थामा कसरी हुन्छ नाफा ?

बजार घटिरहेको बेलामा हामी सर्ट सेल नीतिमा छौं । त्यो भनेको दुई हप्ताभन्दा बढी कुनै पनि सेयर होल्ड गर्दैनौ । मूल्य बढ्दै छ भन्ने कम्पनीको सेयर किन्छौ, केही बढ्छ बेच्छौं । बजारमा ८/१० प्रतिशत मूल्य घटबढ हुने कम्पनीहरु देखिरहन्छन् । त्यस्ता कम्पनीमा हामी खेल्छौं । सर्टटर्म रुपमा खेल्दा नेप्से जति घटेको छ त्यो भन्दा २० प्रतिशत कम घाटा खाने र नेप्से बढ्दा जती बढेको हो त्योभन्दा ३० प्रतिशत बढी नाफा खाने हाम्रो नीति हो । औसतमा हामीले २५ प्रतिशत नाफामा जान्छौं । मार्केटका प्लेयरहरु मध्ये दी बेष्ट बन्ने हाम्रो प्रयास हुन्छ, सफल पनि भईरहेका छौं ।

दीर्घकालिन लगानी गर्ने निर्णय गरिएका कम्पनीको निश्चित मूल्यलाई हामी आधार मूल्य बनाएको हुन्छौ । त्यो आधार मूल्य भन्दा कम भएपछि किन्न थाल्छौं, आधार मूल्यभन्दा बढी भएपछि किन्न बन्द गछौं । फेरी आधार मूल्यभन्दा कम भएपछि किन्छौं, बढी भएपछि किन्न बन्द गर्छौ । यसरी हामीले चाहेजति किनेपछि आनन्दले बस्छौं । हामीले चाहेको मूल्य पाएपछि बेच्छौं ।

हामी ५० हजार कित्ता सेयरमा लगानी गर्दै छौं भने १० हजार कित्ता सर्टटर्ममा खेल्छौं, ४० हजार कित्ता दीर्घकालिन लगानीको रुपमा किनेर राख्छौं ।

सेयरमा ट्रेड गर्दा फाइदा कि इन्भेष्टमेन्ट गर्दा ?

अधिकांश इन्भेष्टर कमाउँछन् जसले दीर्घकालिन लगानीको रुपमा सेयर किनेर राख्छन् । छोटो अवधिमा नाफा गर्छु र बेच्छु भन्ने ट्रेडरहरुमध्ये अधिकांशले गुमाउँछन् ।

सेयरबजार अनुत्पादक क्षेत्र हो भनेर नीति निर्माता अनुदार देखिन्छन्, तपाईलाई कस्तो महसुश हुन्छ ?

विगतमा नीति निर्माताहरुले पुँजीबजारलाई एक प्रकारको ‘ग्याम्लिङ’ (जुवाको खाल) ठान्दथे । तर अहिले त्यस्तो सोच छैन । जब नेपाल टेलिकमको सेयर निवेश गरियो, कृषि विकास बैंकको सेयर निवेश गरियो, चिलिमे, तामाकोशी हुुँदै विभिन्न जलविद्युत योजनाको सेयर निष्काशन भयो तब सरकारी अधिकारीहरु पुँजीबजारप्रति सकारात्मक धारणा बनाउन थाले । किनकी उनीहरु पनि सेयरधनी बनिसके । सेयरमा लगानीगर्दा हुने लाभ उनीहरुले पनि चाखिसके । त्यसैले उनीहरु पुँजीबजारप्रति सकारात्मक भएका छन् ।

लगानीकर्तालाई केही टिप्स दिनुहोस् न ?

पुँजी बजार सजिलो र रमाइलो छ । सानो लगानीले पनि हुने, ठूलो लगानी पनि गर्न सकिने । ठूलो अफिस खोलेर एक दर्जन विज्ञ राखेर व्यवसाय गर्न पनि सकिने । अफिस नै नराखी झोलालाई नै अफिस बनाएर व्यवासय गर्न सकिने । अवकाश पाएको व्यक्ति झुल्ने ठाउँ पनि यहि हो । गृहणिले छोराछोरी स्कूल पुर्याएर फुर्सदको समय काम गर्न सक्ने ठाउँ पनि पुँजीबजार नै हो ।

तर हल्लै हल्ला सुनेर होइन, कम्पनीको वास्तविकता बुझेर लगानी गरौं । छरेपछि फल्छ भनेर भ्रम नपालौ । संसारमा सबैभन्दा धेरै मासिनले गुमाउने ठाउँ पनि पुँजी बजार हो ।

एउटा व्यक्तिगत प्रश्न, तपाईलाई कति पैसा कमाउने इच्छा छ ?

हाम्रो मिहेनतले माना भर्ने हो, पाथी भर्ने हो । भकारी भर्ने भगवानले हो । मानापाथी भर्न जो कोहीले पनि मिहेनत गर्नैपर्छ । मानापाथी भरेपछि हामी खुशी हुनुपर्छ । भकारी भर्ने भोक मसँग छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.