हस्तकला निर्यात प्रोत्साहन बढाउन र छुट्टै नीति तर्जुमा गर्न महासंघको माग  

  २०७४ पुष १५ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यात वृद्धिका लागि नगद प्रोत्साहन दर बढाउन माग गरेको छ । महासंघले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको हो ।

शनिबार महासंघको ३७ औं वार्षिक साधारणसभाको बन्द शत्रलाई सम्बोधन गर्दै अध्यक्ष धर्मराज शाक्यले त्यसको वृद्धिका लागि माग गरेका छन् ।नगद प्रोत्साहन दर निकै कम भएकाले त्यसको वृद्धिका लागि महासंघ निरन्तर सक्रिय रहेको उनले बताए ।

वाणिज्य मन्त्रालयको सहयोगमा सम्बन्धित क्षेत्रका सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी सुझाव र सिफारिशहरु सरकारलाई पठाएको उनले जानकारी दिए ।

उनले भने, ”नगद प्रोत्साहन वृद्धिका लागि उद्योगको अतिरिक्त निर्यात मात्र गर्ने फर्म/कम्पनीलाई पनि नगद प्रोत्साहन सुविधा उपलब्ध गराउन साविकको कार्यविधी संशोधन गराई नगद प्रोत्साहन कार्यविधिमा व्यवस्था गरिएको निर्यात प्रवर्द्धन गृहको साटो निर्यात गर्ने फर्म र कम्पनीहरुलाई पनि यो सुविधा उपलब्ध गराइने छ’ यो वाक्यलाई कार्यविधिमा संशोधन गराउने तर्फ महासंघले प्रयास गरिरहेको छ ।’

महासंघले हस्तकला क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जोडदार माग गरेको छ । शाक्यले हस्तकला विकास नीति २०७४ तर्जुमा गर्न उद्योग मन्त्रालयलाई प्रस्ताव पेश गरेको बताए । उनले भने, ‘हस्तकला व्यवसाय प्रवर्द्धन र बढ्दो व्यापार घाटालाई न्यून तुल्याउन सहयोग पुर्‍याउने उद्येश्यले तयार पारिएको यस नीतिलाई अविलम्ब कार्यान्वयन गराउने तर्फ महासंघ प्रयासरत छ ।’

त्यस्तै महासंघले सरकारसँग सातैवटा प्रदेशमा हस्तकला ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराउन माग गरेको छ । शाक्यका अनुसार हस्तकला उद्योग व्यवसायको दिगो विकासका लागि सातवटा प्रदेशहरुमा एक एक वटा हस्तकला ग्राम स्थापना गर्न प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.