विद्यार्थीसँग चर्को शुल्क असुल्दै निजी विद्यालय, अनुमति बिना कक्षा सञ्चालन

  २०७४ पुष १२ गते १९:०१     पवन तिमिल्सिना

काठमाडौं । उपत्यकाका ठुला निजी विद्यालयहरुले अवैध रुपमा भर्ना शुल्क असुलेको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा विद्यार्थीबाट अत्याधिक मूल्य असुलेको पाइएको हो ।

विद्यालयले जिल्ला शिक्षा कार्यालयले स्विकृत गरेको मूल्यका आधारमा मात्र भर्ना लिन पाउछन् । तर, ललितपुरको रातो बंगला स्कुल, प्रिमियर ईन्टरनेशन र जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नलिई मनपरी भर्ना शुल्क असुलेको पाइएको छ ।

रातो बंगला स्कुलले यस आर्थिक वर्षमा भर्ना शुल्क बापत ७५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ धरौटी लिएको देखिएको छ । त्यस्तै अतिरिक्त कक्षाअन्तर्गत २१ हजार ४ सय ६० रुपैयाँ देखि २६ हजार सात सय ५० रुपैयाँ लिएको पाइएको छ ।

उक्त शुल्क अत्याधिक रहेको विभागको निश्कर्ष छ । विभागले गत पुस ६ गते रातो बंगलालाई प्रमाण सहित पेश हुन ७ दिनको समय दिएको शिक्षा विभागका अधिकृत रामप्रसाद शर्माले बताए । उनका अनुसार विद्यालयले जिल्ला शिक्षा कार्यालयको स्विकृती बिना नै बढी शुल्क लिएको पाइएको हो । उनले भने, ‘विद्यालयले दुई तिहाई अभिभावकको स्विकृतीका आधारमा जिल्ला शिक्षा कार्यालयमा भर्ना शुल्क प्रस्ताव गर्नुपर्छ । यद्यपी रातो बंगलाको हकमा यस्तो गरेको पाइएन ।’ त्यस्तै रातो बंगलामा कानुनले तोकेको १० प्रतिशत छात्रावृत्ति पनि प्रदान नगरेको पाइएको छ ।

प्रिमियर ईन्टरनेशनलले पनि जिल्ला शिक्षा कार्यालयको स्वीकृतीपत्र र शुल्कको संरचना देखाउन नसकेको विभागले जनाएको छ । विभागले विद्यालयलाई शुल्कको लागि अभिभावकको बैठक राखी गरिएको सिफारिस र जिल्ला शिक्षा कार्यालयको स्वीकृती पत्र पेश गर्न निर्देशन दिएको छ ।

अनुमति बिना नै कक्षा सञ्चालन

रातो बंगलाले प्रि प्राइमरी कक्षाको अनुमति नलिई सञ्चालनमा ल्याएको पाइएको छ । विद्यालयले अनुमतिका लागि आवेदन दिएको स्पष्टिकरण दिएको विभागका अधिकृत श्री प्रसाद अधिकारीले जानकारी दिए ।

विभागले विद्यालय सञ्चालकलाई प्रि प्राइमरी कक्षा वैधानिक निकायबाट स्वीकृती लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वीकृतीबिना नै शुल्क वृद्धि

ललितपुरको जेम्स स्कुलले जिल्ला शिक्षा कार्यालयबाट स्वीकृती नै नलिई कक्षा १ मा मनपरी शुल्क बढाएको पाइएको छ । विद्यालयले कक्षा १ को शुल्क चार हजार ३ सय २५ बाट पाँच हजार १ सय ९० पुर्‍याएको छ ।

त्यस्तै वार्षिक शुल्कको मासिक शुल्क दोब्बर हुनुपर्नेमा बढी देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विद्यालयले खेलकुद, पुस्तकालय र मर्मत लगायत विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको छ । विभागले स्पष्टीकरण सहित हाजिर हुन विद्यालयलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.