अब नेपाल भित्रिने सामान निरीक्षण गर्न भारतबाटै ‘ट्रयाकिङ सिस्टम’

  २०७४ पुष २ गते १८:०७     पवन तिमिल्सिना

काठमाडौं । भारतबाट आयात हुने वस्तुलाई बिना अवरोध नेपाल भित्र्याउनका लागि सरकारले नयाँ प्रविधी इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ एण्ड सेक्यूरिटी सिस्टम (इसिटिएस) लागू गर्ने भएको छ । वाणिज्य मन्त्रालयले भन्सार नियन्त्रण अन्तर्गत भारतबाट पास हुने सामानको गतिविधीलाई निरीक्षण गर्न इसिटिएस प्रणाली सुरु गर्न लागेको हो ।

सरकारले आगामी जनवरीदेखि नेपाल भित्रने सामानसहितका कन्टेनरमा इसिटिएस प्रविधी जडान गर्ने तयारी गरेको छ । भारतबाट वस्तु आयात प्रकृयामा चोरीपैठारी, ढिलाई बढेको तथा सामान बिग्रिने जस्ता समस्या बढेको निष्कर्श निकाल्दै सरकारले इसिटिएस प्रणाली लागू गर्न लागेको हो ।

साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेशन (एसएएसइसी) एण्ड ट्रेड फ्यासिलिसिएसन अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा वाणिज्य मन्त्रालयले भारतबाट आयात हुने सामानको ढुवानीलाई ‘ट्रयाक’ गर्न छुट्टै प्रविधीको ‘पाइलटिङ’ गर्न लागेको हो । पहिलो चरणमा यसलाई भारतसँगको प्रमुख नाकाहरु – वीरगञ्ज, विराटनगर र भैरहवामा प्रयोग गरिने मन्त्रालयले जानकारी दिएको छ ।

इसिटिएस पूर्णरुपमा वायरलेस प्रविधी हो । यो प्रणाली लागूभएपछि बस्तु आयातमा हुने ढिलाईलाई कम गर्न सकिने विश्वास लिइएको छ ।
कलकत्ता बन्दरगाहदेखि नेपालको सीमानाकासम्म दैनिक औषत ६०/७० कन्टेनर पास हुन्छन् । मन्त्रालयको ३ महिनाभित्र सबै कन्टेनरमा उक्त उपकरण जडान गर्ने लक्ष्य रहेको उपसचिव मनोज आचार्यले जानकारी दिए । यो प्रविधी रेल र सडकबाट आउने सामानहरुका लागि प्रयोग गर्ने उनले बताए ।

सुरुवातमा ढुवानीकर्ताले स्वैच्छिकरुपमा उक्त उपकरणलाई प्रयोगमा ल्याउनपाउछन् । उनले भने, ‘पाइलटिङको रुपमा ३ महिनाजति जो-जसलाई ईच्छा छ, त्यही अनुसार प्रविधी प्रयोगमा ल्याइन्छ । प्रोजेक्ट सफल भएपछि भारत सरकारसँग वाणिज्य सन्धीमा यसलाई समेट्न प्रस्ताव गरिनेछ ।’ कलकत्तादेखि भन्सार बिन्दूसम्म इसिटिएस प्रविधी प्रयोग गरिने आचार्यले बताए ।

इसिटिएसको प्रयोगले विलम्ब तथा जाँचपास शुल्कलाई समेत कटौती गर्ने र नियमित राजश्व संकलनमा पनि योगदान पुर्‍याउने उनले बताए ।  अहिले कुनै पनि कन्टेनर सही समयमा नआउने गरेको उनले बताए । एउटा कन्टेनर पास गर्न बढीमा ४५ दिनसम्म लाग्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो अवधारणा अघि सारेको छ । उनले भने, ‘यसले कुन सामान कति समयमा पास भइरहेको छ भन्ने जानकारी ट्रयाक गर्दछ । बीचमा आइपर्ने अवरोधलाई यसले तुरुन्त जानकारी गराउनेछ । यो प्रविधीले ढिलाईको समस्यालाई पनि सुल्झाउन मद्दत पुर्‍याउछ ।’

मन्त्रालयले यो प्रणाली लागू गर्न आवश्यक आन्तरिक तयारी गरिरहेको आचार्यले जानकारी दिए । एसियाली विकास बैंकले प्राविधिक सहयोगका लागि कम्पनी समेत नियुक्त गरेको उनले बताए ।
गत जुनमा नै भारत सरकारसँग प्रविधी जडान गर्ने विषयमा समझदारी भइसकेको छ । भारत-नेपालबीच भएको समझदारीपत्रमा उल्लेख भएअनुसार भारतबाट नेपालको भन्सारबिन्दूसम्म कार्गो ( कन्टेनर तथा मालवाहक ट्रक)मा इसिटिएस प्रणाली पाइलटिङ गरिनेछ ।

यो प्रणाली अन्तर्गत स्याटेलाइट पोजिसनिङ सिस्टम, सञ्चारसम्बन्धी उपकरण, रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन,वेबद्वारा सञ्चालित सफ्टवेयर तथा अन्य प्रविधीको प्रयोग गरिनेछ, जसले कार्गोको सुरक्षा र त्यसको आवतजावतमा आउनसक्ने अवरोधलाई निरुत्साहित गर्न प्रत्याभुत गर्दछ । यसअघि भारतले भुटानसँग पनि यो प्रणाली लागू गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.