सरकारले पायो ७७ अर्ब ७६ करोड वैदेशिक सहयोग प्रतिवद्धता, हेर्नुस कसको कति ?

  २०७४ मंसिर २९ गते १६:१७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता द्धिपक्षिय र बहुपक्षिय दातृनिकायबाट ७७ अर्ब ७६ करोड रुपैयाँको सहयोग प्रतिवद्धता प्राप्त भएको छ ।

यसमध्ये ६० अर्ब १७ करोड रुपैयाँ अनुदान र १७ अर्ब ५९ करोड रुपैयाँ ऋण सहयोगको प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थकाअनुसार यस अवधिमा सबैभन्दा ठुलो सहयोग अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत ५१ अर्ब ५० करोड रुपैयाँ गरेको छ । एसियाली विकास बैंक (एडीबी), जापान, भारत र युरोपेली संघले ऋण तथा अनुदान सहयोग प्रदान गरेका छन् ।

विद्यालय विकास कार्यक्रम कार्यान्वयनका लागि युरोपेली संघले ७ अर्ब ३७ करोड, यही कार्यक्रमका लागि जापानले २८ करोड २० लाख रुपैयाँ दिने सम्झौता गरेका छन् ।

नेपालमा पेट्रोलियम तथा ग्याँसको संभाव्यता अध्ययनका लागि चीनले १३ करोड ६० लाख रुपैयाँ युआन सहयोगको सम्झौता भएको छ । अरनिको सडक मर्मत, रसुवागढीमा पुल निर्माणका लागि १ अर्ब रुपैयाँ युआन नेपाललाई दिन चीनसंग सम्झौता भइसकेको छ ।

यस्तै छिमेकी भारतले भूकम्पबाट भत्किएका घर निर्माण र स्वास्थ्य संस्था निर्माणका लागि गत भदौमा १० अर्ब अनुदान दिने सम्झौता गरेको छ । एडीबीले नेपालमा विद्युत प्रसारण प्रणाली र वितरण प्रणालीलाई बढी मजवुत बनाउन १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋण दिने सम्झौता गरेको छ ।

यस्तै, सासेकअन्र्तगत भन्सार सुधार तथा आधुनिकीकरण र व्यापार सहजीकरणका लागि एडीबीले २ अर्ब १३ करोड रुपैयाँ ऋण सहयोग प्रदान गर्ने सहमति भएको छ । चालु आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी झण्डै ३ खर्ब रुपैयाँ वैदेशिक सहायता परिचालनको लक्ष्य लिएको छ । यसमध्ये २ खर्ब १४ अर्ब ३ करोड ऋण र ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान रहेको छ ।गत आर्थिक वर्षमा सरकारले अनुदान र ऋण गरी कुल २ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ सहयोग प्रतिवद्धता प्राप्त गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.