बाम सरकार: २ बर्षपछि ७० प्रतिशत विद्यार्थीलाई प्राबिधिक शिक्षा अनिवार्य

  २०७४ मंसिर २६ गते १४:५४     विकासन्युज

काठमाडौं । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्र अनुसार काम गरे भने आगामी २ बर्षपछि ७० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा प्राबिधिक शिक्षा प्रदान गरिनेछ । बामपन्थी घोषणा पत्रमा उनीहरुले २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गर्ने र त्यसका जगमा ७० प्रतिशत व्यवसायीक तथा प्राबिधि र ३० प्रतिशत गैर प्राबिधिक शैक्षिक जनशक्ति तयार पार्र्ने उद्घोष गरेका छन् ।

‘आफ्नै अनुभवहरुको समिक्षा गर्दै र संसारभरिका नमुना शिक्षा प्रणालीहरुको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्माणका लागि आगामी २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गरिनेछ । गैरप्राबिधिक बिषयमा ३० प्रतिशत र व्यवसायिक तथा प्राबिधिक बिषयमा ७० प्रतिशत जनशक्ति विकास गर्ने गरि शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरुप साधन श्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिनेछ’, बामपन्थी घोषणा पत्रमा लेखिएको छ ।

यतिबेला बामपन्थी दलहरुले सरकार गठन गर्न सक्ने गरि सुबिधाजनक बहुमत प्राप्त गरिसकेका छन् । अब उनीहरुले आफ्नो चुनावी घोषणालाई कार्यान्वयन गरे भने २ बर्षपछि कुल विद्यार्थीमध्ये ७० प्रतिशतले व्यवसायीक तथा प्राबिधिक शिक्षा अध्ययन गर्नै पर्नेछ । ३० प्रतिशत विद्यार्थीले मात्रै गैर प्राबिधिक बिषय अध्ययन गर्न पाउनेछन् । नेपालमा मानविकी, शिक्षा लगायतका संकायलाई गैर प्राबिधिक मानिन्छ ।

बामपन्थीहरुले राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत बजेट शिक्षामा अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने घोषणा पनि गरेका थिए ।
त्यस्तै, गुरुकुल, बिहार, गुम्बा, मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने दावी गरिएको छ । २ बर्ष्भित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने र पाँच बर्ष्भित्र सबै नेपालीलाई साक्षर बनाउने अठोट पनि घोषणा पत्रले कसेको छ ।

बामपन्थीहरुले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त गराउने तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउने पनि बताएका छन् । त्यस बाहेक दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासिय शिक्षाको व्यवस्था गर्ने, कक्षा ३ सम्मको शिक्षा मातृ भाषामा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.