समानुपातिकमा एमालेलाई ८० हजारको अग्रता, विवेकशिल साझाले सांसद नपाउने, बाबुराम भट्टराई पनि स्वतन्त्र

  २०७४ मंसिर २६ गते ११:२९     विकासन्युज

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा पनि काँग्रेस भन्दा एमाले ८० हजार मतले अघि देखिएको छ । करिब ३५ लाख मत गणना भैसक्दा एमालेले ११ लाख २० हजार ९ सय ८० मत पाएको छ भने काँग्रेसले जम्मा १० लाख ४० हजार ७ सय १ मत पाएको छ । निर्वाचन आयोगले बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार काँग्रेस भन्दा एमाले ८० हजार २ सय ७९ मतले अघि रहेको देखिन्छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ५३ हजार ९ सय ८३ मत पाएको छ भने संघिय समाजवादी फोरमहले ७९ हजार १ सय ७३ मत पाएको छ । त्यस्तै, विवेकशिल साझा पार्टीले ६३ हजार २ सय ४५ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५२ हजार ४ सय २० मत पाएको छ । राष्ट्रिय जनता पार्टी नेपालले ५२ हजार ४ सय २० मत ल्याउँदा नयाँ शक्ति पार्टी नेपालले भने ३४ हजार ९४ मत मात्रै पाएको छ ।

विवेकशिल साझाले सांसद नपाउने
प्रत्यक्ष तर्फ एक सिट पनि नजित्ने राजनीतिक दलहरुले समानुपातिक तर्फ ३ प्रतिशत मत कटाउन नसकेमा सांसद पाउने छैनन् । विवेकशिल साझा पार्टीले प्रत्यक्षमा एक सिट पनि नजितेकाले ३ प्रतिशत मत ल्याउन नसके सांसद नपाउने अवस्था सृजना भएको छ । शहरी क्षेत्रमा केहि मत आएको भएपनि ग्रामिण क्षेत्रमा संगठन विस्तार नभएकाले विवेकशिल साझा पार्टीले संसदमा प्रतिनिधित्व गर्ने सम्भावना न्युन बन्दै गएको छ ।

३ प्रतिशतको थ्रेस होल्ड पार गरेको अवस्थामा भने यो पार्टीका सांसदले पनि स्वतन्त्र हैसियतमा संसदमा प्रतिनिधित्व गर्न सक्नेछन् । निर्वाचन आयोग श्रोतका अनुसार एमाले, काँग्रेस, माओवादी, संघिय समाजवादी फोरम, राजपा नेपाल र राप्रपाले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाउने सम्भावना रहेको छ ।

बाबुराम भट्टराई स्वतन्त्र सांसद
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि स्वतन्त्र संसदको हैसियतमा संसद भवन प्रवेश गर्नुपर्ने अवस्था देखिएको छ । नयाँ शक्तिले समानुपातिक तर्फ ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न नसकेको अवस्थामा डा. भट्टराईको पार्टीले राष्ट्रिय दलको मान्यता पाउने छैन । त्यस्तो अवस्थामा उनी र उनको दलबाट समानुपातिक संसद बनेकाहरु स्वतन्त्र संसदको हैसियतमा संसद भवन प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.