नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

  २०७४ मंसिर २४ गते १४:४६     विकासन्युज

नुवाकोट । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३६ हजार ४७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरेका छन् । विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा महतले तामाङलाई पराजय गरेका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरेका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए ।

यस्तै प्रदेश (ख)मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम प्रतिष्पर्धी बनेका छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा(क)मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा(ख)मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरेका छन् ।

यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जितेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.