छक्कबहादुरले छक्क पार्दै काका भतिजालाई हराए, लामा ४७ मतले अगाडि

  २०७४ मंसिर २२ गते १८:०७     रमेश लम्साल र हरि लामिछाने

काठमाडौं । विसं २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ र नसोचेको परिणाम प्राप्त हुँदै आएको छ ।

प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको हो । यस पटकको निर्वाचनमा पनि हुम्लाको निर्वाचनमा यस्तै भयो । संयोग पनि कस्तो पर्यो भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छक्कबहादुर लामा नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनलाई छक्याउँदै प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित भएका छन् ।

उनले वाम गठबन्धनका छिमीदोर्जे लामा र काँग्रेसका मंगलबहादुर शाहीलाई पाखा लगाउँदै विजयको झण्डा फहराएका हुन्। उनले आठ हजार ४९१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीले आठ हजार ४४४ मत प्राप्त गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामाले भने दुई हजार ७०० मत प्राप्त गरेका छन् । विजयी लामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । वाम गठबन्धनले उनलाई टिकट नदिई छिमीदोर्जेलाई आधिकारिक उम्मेदवार बनायो । अन्तिम समयसम्म पनि आधिकारिक उम्मेदवारलाई सघाउन गठबन्धनले अधिकतम प्रयास ग¥यो तर लामाले मान्दै मानेनन् ।

हल्ला पनि चल्यो, वाम गठबन्धनका आधिकारिक उम्मेदवारले छक्कबहादुरलाई नै समर्थन गरे । न त उनले आफ्नो उम्मेदवारी फिर्ता लिए, न त वाम गठबन्धन नै टसको मस भयो । अन्त्यमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ४७ मत बढी ल्याएर लामाले इतिहास कायम गरेका छन् । नवनिर्वाचित सांसद् लामा तिनै व्यक्ति हुन् जसले २०४८ सालको निर्वाचनमा काका चक्रबहादुर शाही र २०७४ को निर्वाचनमा भतिजा मंगलबहादुरलाई पराजित भए ।

हुम्लाका पत्रकार तथा विज्ञ डा दीपेन्द्र रोकायाका अनुसार २०४८ सालको संसदीय निर्वाचनमा काँग्रेसका चक्रबहादुरलाई सात मतले पारजित गरेका लामाले यस पटक उनका भतिजा मंगललाई ४७ मतान्तरले पराजित गरेका हुन् । हुम्लाको इतिहासमा २०५१ मा काँग्रेसका चक्रबहादुर र २०५६ मा एमालेका गोरखबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका थिए । यस्तै २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का कर्णजीत बुढाथोकी विजयी हुँदा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही सभासद् बने ।

तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट निर्वाचित हुने नौ सांसदमध्ये छक्कबहादुर एक थिए । रोल्पाका कृष्णबहादुर महरा र बर्मन बुढा जस्तै चर्चित सांसद्का रुपमा लामालाई लिइन्थो । संविधानअनुसार प्रदेश नं ६ को हिमाली जिल्ला हुम्ला सडक सञ्जालको पहुँचबाट अझै पनि टाढा छ ।

हुम्लीको सडक सपना पूरा गर्ने एकसूत्रीय योजनामा छक्कबहादुर चुनावी मैदानमा खडा भएका हुन् । हुम्लाका स्थापित नेता लामा तिब्बती, चिनियाँ, नेपाली, हिन्दी र अग्रेजी भाषाका जानकार हुन । कानुनमा स्नातक छक्कबहादुर त्रिविमा समाजशास्त्र संकायमा स्तातकोत्तरका विद्यार्थीसमेत हुन् ।

तत्कालीन राजाको सरकारमा सहायक मन्त्री बनेका लामा शान्ति प्रक्रियाको सुरुवातपछि माओवादीमा प्रवेश गरेका छन् । नवर्निाचित सांसद लामाले पार्टीले टिकट नदिए पनि जनताले आफूलाई विजयी गराएका छन् भन्दै आफूसम्बद्ध पार्टीबाट बाहिर नजाने प्रतिक्रिया दिए । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, सिमीकोट विमानस्थलको स्तरोन्नति गर्ने तथा नेपाल चीन हिल्सा नाकालाई अन्तर्राष्ट्रियस्तरको नाकाका रुपमा विस्तार गर्ने आफ्नो कार्ययोजना अगाडि सारेको र जनताले आफ्नो कार्ययोजनाको अनुमोदन गरेको जिकिर गरेका छन् ।

माथिल्लो हुम्लालाई पशुपालन र व्यापार, मध्य हुम्लालाई फलफूल र जडीबुटी खेती र तल्लो हुम्लालाई कृषि तथा व्यापारिक क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ मत मागेका थिए । हुम्लाका जानकार डा रोकायाले भने, “पार्टीले लामालाई टिकट नदिएर अन्याय गरे पनि हुम्ली जनताले न्याय गरेका छन् । सत्यको जीत हुन्छ भन्ने कुरा प्रष्ट भएको छ ।”

हुम्लाका प्रजिअ लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार जिल्लामा कूल २७ हजार ४३५ मतदाता भएकामा २२ हजार मतदान भएको थियो । प्रतिनिधिसभामा एक स्वतन्त्रसहित सात राजनीतिक दलको सहभागिता थियो भने प्रदेशमा तीन दलले भाग लिएका थिए । प्रजिअ बाँस्कोटाका अनुसार यही मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई आजै सम्पूर्ण मत परिणामसमेत सार्वजनिक हुने छ ।

कष्टकर जीवनयापन गर्दै आएका हुम्लीलाई सहज सेवा दिने लक्ष्यका साथ निर्माण भएको चीनको तिब्बत जोड्ने हिल्साको पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ पुस ५ गते उद्घाटन गरेका थिए । सो पुल निर्माणका लागि समेत नवनिर्वाचित सांसद् लामाले पहल गरेका थिए ।

नवनिर्वाचित छक्कबहादुरसँग कर्णाली करिडोर हिल्सा–सिमीकोट सडक निर्माण, विद्युत् आपूर्तिमा सहजता, हेक्पा र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन, मानसरोवर तथा कैलाश पर्वतमा दश प्रवेशद्वार निर्माण, दक्षिणी क्षेत्रमा कृषि उत्पादन वृद्धि र जिल्ला अस्पतालमा भिडियो एक्स–रे सेवा स्थानीय बासिन्दाको माग छ । स्थानीय जनताको माग सम्बोधन गर्न सबैसँग मिलेर काम गर्ने नवनिर्वाचित छक्कबहादुरको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.