बिहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान, कहाँ कहाँ हुँदैछ मतदान ?

  २०७४ मंसिर २१ गते ११:३१     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा कम्तीमा २० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा व्यापक मतदाताको सहभागितामा मतदान कार्य जारी रहेको छ ।

सुर्खेतको वीरेन्द्र नगरपालिकाको सरस्वती मा.वि. मतदान केन्द्रमा १०४ वर्षका ज्येष्ठ नागरिक पदमलाल थानीले मतदान गर्नुभएको छ । यस्तै, गुल्मीको जिल्लाको बलेटक्सार र नवलपरासी पश्चिमको सरावल गाउँपालिका–२ त्रिमूर्ती आवासीय विद्यालय मतदान केन्द्रमा बिहान केही बेर सामान्य विवाद भई मतदान स्थगित भएकोमा हाल मतदान सुचारु भइरहेको जानकारी प्राप्त भएको छ । बिहान सुदूरपश्‍चिमका केही जिल्लामा छिटफुट पानी परेको भए तापनि अहिले मौसम सफा रहेकाले मतदाताको उपस्थितिसमेत उत्साहजनक रहेको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान कार्य भइरहेको छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

कहाँ कहाँ हुदैछ मतदान ?

दोस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर, प्रदेश नं. ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङ्जा र पर्वत, प्रदेश नं. ५ का नवलपरासी  (बर्दघाटन सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नं. ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं. ७ का कैलाली, कञ्चनपुर, डँडेलधुरा, अछाम र डोटी जिल्लामा मतदान कार्य जारी रहेको छ । दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.