यी उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाए

  २०७४ मंसिर २१ गते ९:५०     विकासन्युज

ललितपुर। ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्रमै भएको (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् ।

दोस्रो संविधानसभामा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदय शमशेर राणाले यस पटक भने आफूलाई भोट हालेका छन् । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका हुन् । उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थियो ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् ।

क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे ।

प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गर्नुभएको छ ।

प्र्रदेशसभातर्फ, क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबाराही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरेका छन् । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे ।

क्षेत्र नं २ क र ख का उम्मेदवार पवनविक्रम थापाले इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरेका छन् ।

प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.