१ करोड २२ लाख जनाले मतदान गर्दै, निर्वाचन आयुक्तले कहाँ गरे मतदान ?

  २०७४ मंसिर २१ गते ९:२३     विकासन्युज

काठमाडौं । बिहीबार देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बाटै सुचारु भएको छ ।

आजको निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आ–आफ्नो मतदान केन्द्रमा गई मताधिकार प्रयोग गर्नेछन् । प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र  निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका  छन् ।

यसैगरी, आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्थासमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.