निर्धक्क भई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आह्वान

  २०७४ मंसिर २० गते १८:१५     विकासन्युज

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन्।

भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । “भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगले प्रारम्भिक अनुमान लगाएको छ” – पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले भने ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

डा यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन राजनीतिक दल र तिनका उम्मेदवारलाई पनि आह्वान गरे ।

मतदान गर्न जाँदा कारणवश मतदाता परिचयपत्र छुटेमा वा नष्ट भएमा त्यस्ता मतदाताको मताधिकार सुनिश्चित गरेको जानकारी पनि उनले दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आयोगले अनुमति प्रदान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट निर्वाचन आचारसंहिता र नेपालको कानून पालना हुने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महत्वपूर्ण छ ।”

उनले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षितरुपमा पुर्याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

“जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्णरुपमा मतदान गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस, आर्य, थारु, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएकालाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले समृद्ध नेपाल बनाउने यात्रामा समाहित हुन सबैलाई अनुरोध गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.