ट्रम्पको कर कटौती विधेयक पास भएपछि सुनको भाउ निरन्तर ओरालो, १ सातामा ५ सय रुपैयाँले घट्ने अनुमान

  २०७४ मंसिर २० गते ११:३४     विकासन्युज

काठमाडौं । सुनको भाउ दुई महिनायताकै सस्तिएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी राष्ट्रपति डोनाल्डले प्रस्ताव गरेको व्यापक कर कटौती सम्बन्धी विधेयक अनुमोदन गरेपछि सुन बजार ओरालो लागेको हो ।

गत शनिबार अमेरिकी सिनेटरहरुले कर कटौती सम्बन्धी विधेयक पास गरेको थियो । राष्ट्रपति बनेयता ट्रम्पका लागि यो पहिलो ठूलो विधायिकी जित मानिएको छ ।

उक्त विधेयक पास भएयता अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ ।

मंगलबार अन्तराष्ट्रिय बजारमा प्रति औंस १२ सय ८० अमेरिकी डलर रहेको सुनको भाउ बुधबार घटेर १२ सय ६६ डलर प्रति औंस पुगेको छ ।

नयाँ योजना अनुसार, कम्पनीहरुले तिर्नुपर्ने करमा व्यापक कटौती हुनेभएपछि विश्वमा लगानीकर्ताहरुले सुन बेचेर बिक्री गर्न थालेको रोयटर्सले जानकारी दिएको छ । विधेयकले ठुला व्यवसायी तथा उद्योगीहरुमाथी लाग्दै आएको कर कटौती गर्ने परिकल्पना गरेको छ । ठुलो करसम्बन्धी फेरबदलले लगानीकर्ताहरुमा उत्साह बढेको छ ।

अब लगानीकर्ताहरु स्टक बजारमा लगानी गर्न उत्साहित देखिएका छन् । जसकारण लगानीको क्षेत्रमा ‘सेफ हेभन’ मानिएको सुन बजारबाट लगानी झिकेर अन्य क्षेत्रमा लगानी बढाइरहेका छन् ।

विश्वमा सन् १९७० पछि अर्थतन्त्रको प्रमुख माध्यम सुन बनेको छ। लगानीकर्ताका दृष्टिकोणबाट आर्थिक कारोबारमा स्टक,तेल,डलर, रियलस्टेट व्यवसायपछि लगानी सुरक्षित गर्ने अन्तिम र भरपर्दो क्षेत्र मानिन्छ ।

पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंक फेडेरल बैंकले ब्याजदर बढाउने तयारीमा रहेको जानकारीमा आएपछि सुनको भाउ घटिरहेको छ । फेडेरल बैंकले ब्याजदर बढाउने बितिकै सुनमा लगानी घट्ने सम्भावना बढी हुन्छ ।

हाल फेडेरल बैंकले ०.५ प्रतिशत ब्याजदर राखेको छ । बैंकले ब्याजदर बढाएर ०.७५ प्रतिशतसम्म पुर्‍याउनेमा लगानीकर्ताहरु आशावादी छन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ डिसेम्बरसम्ममा १२ सय ५० डलरसम्म पुग्ने अनुमान गरेका छन् । नेपाली बजारमा सुनको भाउ ५४ हजार ६ सय सम्म पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

महासंघका अनुसार गत आइतबार प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.