कांग्रेसलाई बहुमत नदिए पाँच वर्ष खेर जानेछ: विनोद चौधरी

  २०७४ मंसिर १८ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरुलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् । मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच बर्ष यो एजेण्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए ।

भोट हालिसकेपछि पछुताउनुको अर्थ रहदैन । अब पनि हामी आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेनौं भने त्योभन्दा ठूलो पश्चाताप केही हुने छैन । नेता चौधरीले प्रष्ट पार्दै भने, उदार अर्थव्यवस्थामा मात्रै आर्थिक विकासलाई अगाडि बढाउन सम्भव हुनेछ । त्यसका लागि नेपाली कांग्रेसको बहुमतको सरकार आवस्यक छ ।

नेता चौधरीले निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरुलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच बर्षको विकासको खाका समेत कोरिसकेको बताए । कांग्रेस पार्टीभित्र आर्थिक विकासको एजेण्डाको तयारी एवं कार्यान्वयनको समेत जिम्मेवारी पाएका चौधरीले तत्काल दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्न विकासका महत्वाकांक्षी परियोजनाहरु संचालनमा ल्याउने र हजारौंको संख्यामा रोजगारी श्रृजना गर्ने गरि सामाजिक एवं आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरिसकेका छन् ।

नेपाललाई हेडक्वार्टर बनाएर विश्वभर लगानी विस्तार गर्न सम्भव छ भन्ने मान्यतालाई सफल कार्यान्वयन गरिरहेका नेता चौधरीले आगामी पाँच बर्षभित्र आम नेपालीको जीवनमा सार्थक परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास लिएका छन् । नेपालको लगानीको वातावरणमा आमूल सुधार गर्दै आन्तरिक र बह्य लगानीकर्ताका लागि नेपाललाई आकर्षक गन्तब्यमा रुपान्तरण गर्ने र लगानी अभिबृद्धि गर्दै विकसित मुलुकको हैसियतमा पु¥याउने सोंच चौधरीले लिएका छन् ।

आफ्नो व्यवसायिक सफलतापछि नेता चौधरीले आम नेपाली जनतालाई समृद्ध देशका नागरिक बनाउन सहज सम्भव छ भन्ने लक्ष्यका साथ राजनीतिमा होमिएका छन् । पछिल्लो एक महिनामा देशब्यापी चुनावी अभियानमा संलग्न भएका नेता चौधरीले देशका प्रत्येक क्षेत्रहरुमा आकर्षक अवसरहरु रहेको र ति अवसरको कार्यान्वयनबाट सहज रुपमा समृद्ध नेपाल निर्माण गर्न सम्भव रहेको भन्दै क्षेत्रगत रुपमा समेत विकासका खाकाहरु कोरिरहेका छन् ।

प्रत्येक दिन कम्तिमा तीनवटा ठूला चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका चौधरीले पूर्वका पहाडी गाउँहरुदेखि सूदुर पश्चिम कैलालीका गाउँहरुसम्म पुगेर विकास सम्भव छ भन्ने कुरा मतदाताहरुलाई बुझाउने प्रयास गरे । विनोद चौधरीको व्यवसायिक सफलताबाट प्रभावित आम नागरिकले देशलाई समृद्ध बनाउन पनि उनको महत्वपूर्ण योगदान रहने विश्वास देखाएका छन् ।

चुनावी सभाहरुमा उनले कांग्रेसले बहुमत हासिल गरेपछि २०४८ सालपछि देशमा आर्थिक विकासमा आएको नीतिगत परिवर्तन र सोही परिवर्तनका लागि देश राजनीतिक संकटमा पर्दा समेत अर्थतन्त्र संकटग्रस्त बन्नबाट जोगिएको कुरा पनि बुझाउने कोशिस गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.