८ दिन लगातार शैक्षिक संस्थाहरु बिदा, वर्षभरीमा ५५ प्रतिशत समय छुट्टी

  २०७४ मंसिर १४ गते १९:०८     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि आठ दिनसम्म लागि देशभरका शैक्षिक संस्थाहरु बिदा हुनेभएको छ । सरकारले आवश्यकताभन्दा बढी बिदा दिएकाले शैक्षिक गुणस्तरमा ह्रास आउने देखिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ ।

प्याब्सनका उप महासचिव राजेन्द्र बानियाँका अनुसार अनावश्यक बिदाका कारण यो वर्ष शैक्षिक सत्रको मापदण्डअनुरुप कोटा नपुग्ने देखिएको छ । उनका अनुसार वर्षभरीमा करिब ५५ प्रतिशत समय विद्यार्थीको समय बिदामा बस्ने देखिएको छ ।

उनले यसपाली १ सय ७० दिन पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताए । सरकारको शैक्षिक सत्र योजना अनुसार वर्षमा १९२ दिन कक्षा सञ्चालन गर्नुपर्ने र २२० दिन शैक्षिक संस्था खोल्नुपर्ने उल्लेख छ ।

शुक्रबार सरकारले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिनको (बाह्र रव्विउल) को अवसरमा भोली मंसिर १५ गते शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

१६ गते शनिबार परेको छ भने आइतबार किरात धर्मावलम्बीहरुको चाडपर्व उधौली पर्व रहेको छ । त्यस्तै १८ गतेदेखि २२ गतेसम्म गृह मन्त्रालयले निर्वाचनका लागि बिदा दिने घोषणा गरिसकेको छ ।

लामो समयको सार्वजनिक बिदाको नकारात्मक प्रभाव आगामी एसईई परीक्षामा पनि देखिने बानियाँले बताए । उनले भने, ‘विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा यत्रो लामो बिदा दिदाँ परिणाम नराम्रो भोग्नुपर्ने निश्चित नै छ ।’

यो वर्ष  माओवादी द्वन्द्वकालपछिको सबैभन्दा बढी बिदा हुने वर्ष भएको बानियाँको दाबी छ । उनले भने, ‘यो वर्ष सबैभन्दा खराब शैक्षिक सत्रको रुपमा देखापरेको छ ।’

सरकारले निर्वाचनका नाममा अनावश्यक बिदा दिएको भन्दै उनले चुनावमा दिने बिदाको भत्सर्ना गरेका छन् । निर्वाचनका लागि विद्यालयलाई मतदान स्थलको रुपमा प्रयोग गर्नु गलत रहेको उनले बताए ।  ‘दशैंतिहारको लामो बिदासँगै यसपाली निर्वाचनको पनि छुट्टै बिदा थपिएको छ । संसारमा काँहीपनि विद्यालयलाई निर्वाचन मतदानस्थलको रुपमा प्रयोग गर्ने चलन छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.