मेलम्चीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी

  २०७४ मंसिर १४ गते १६:०७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनालाई कारवाही गर्ने चेतावनी दिएको छ । अनुमति बिना फुटपाथ भत्काएको भन्दै महानगरपालिकाले बिहिबार विज्ञप्ति जारी गरेको छ ।
उक्त विज्ञप्ती अनुसार -‘आगामी दिनमा महानगर क्षेत्रभित्र विकास निर्माण, कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा महानगरपालिकासँग समन्वय गर्नुहुन, सहरी पूर्वाधार विकास एवं सहरी सेवा सुविधा वितरणमा काम गर्ने विषयगत साझेदार कार्यालयहरुलाई पुनः अनुरोध गर्दछौं । आगामी दिनमा यसो हुन नसकेमा, महानगरबासीको हितलाई ध्यानमा राखी आवश्यक कारवाही गर्न महानगरपालिका वाध्य हुने सम्बद्ध सबैमा जानकारी गराउन चाहन्छौं ।’

महानगरपालिकाले आफ्नो धुलो मुक्त काठमाडौं अभियान चलिरहेका बेला अनुमति बिनै फुटपाथ खन्ने काम गरेको भन्दै आपत्ती जनाएको हो ।
‘हामीले अघिल्लो दिन फुटपाथ बनायौं, तर भोली पल्टै हामीलाई नसोधी फुटपाथ खन्ने काम भएको छ, अब त्यस्तो काम नहोस भन्ने हाम्रो अनुरोध छ’, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्माले भने ।

महानगरपालिकाको क्षेत्राधिकार भित्रका सञ्चालन हुने कुनै पनि विकास निर्माणका काममा आफुसँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।
मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका विकास प्राधिकरणले आफुसँग समन्वय नगरेको भन्दै महानगरपालिकाले आपत्ती पनि जनाएको छ । स्थानीय निकायको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधीले नागरिकको काम गरिहेको अवस्थामा विकास निर्माणका काम गर्दा आवश्यक समन्वय हुनु आवश्यक रहेको पनि महानगरले जनाएको छ ।

महानगरपालिकाले बिहिबार विज्ञप्ति नै निकालेर महानरपालिका भित्र विकास निर्माणका काम गर्दा आवश्यक समन्वय गर्न भनेको हो । ‘सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृत्ति देखिएको छ ।यस कार्यको सुधारकालागि महानगरपालिकाबाट पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत आफू खुशी काम गर्ने प्रवृत्ति रोकिएको छैन । यसमा महानगरको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.