वैशाख १ गतेदेखि काठमाडौंमा ५० यात्रु बोक्ने ठूला बस मात्रै !

  २०७४ मंसिर ६ गते १६:५९     नारायण पौडेल

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौंको एउटा रुटमा ५० यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने भएका छन् । दिगो शहरी यातायात आयोजनाको अगुवाईमा नगर विकास कोष र दिगो सार्वजनिक यातायात प्रालीबिच कात्तिक ३० गते ऋण सम्झौता समेत भैसकेको छ ।

सम्झौता अनुसार १० करोडको लागतमा १७  वटा अपांग मैत्री बस सञ्चालन गरिनेछ । ती बसहरुले न्युनतम ५० जना यात्रु बोक्न सक्नेछन् । जसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । ती बसहरु खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत भने दिगो सार्वजनिक यातायात प्रालीले लगानी गरेको छ ।

दिगो यातायात प्रालीले आफ्नो भागमा परेको ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । नगर विकास कोषले ५ प्रतिशतको ब्याजदरमा ८ बर्षका लागि ऋण उपलब्ध गराएको हो । ती बसहरु गुड्ने रुटमा हाल सञ्चालन भैरहेका ३५ वटा टेम्पो र २६ वटा माइक्रो भने राजधानीकै अन्य सहायक रुटमा स्थानान्तरण हुनेछन् । दिगो शहरी यातायात आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ ।

दिगो सार्वजनिक यातायात प्रालीका सचिव लाल प्रसाद गुरागाईँका बैशाख १ गतेदेखि ठुला बस गुडाउने तयारीका साथ काम अघि बढेको छ । बस खरिदका लागि बिभिन्न कम्पनीहरुसँग कोटेशन मागिएको छ र एक हप्ताभित्रै बस खरिद गर्ने कम्पनी छनौट गरिनेछ ।

बस गुड्ने रुट
यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।

यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् ।
६४ रुटको पहिचान
एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ ।

६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो ।

त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.