विद्या सुन्दरको स्मार्ट काठमाडौंमा यस्तो बन्दैछ स्वचालित सार्वजनिक शौचालय(डिजाइन सहित)

  २०७४ मंसिर ५ गते ११:२३     पवन तिमिल्सिना

काठमाडौं । निर्वाचन अघि काठमाडौंमा महानगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेका प्रमुख विद्या सुन्दर शाक्यले स्वचालित सार्वजनिक शौचालय बनाउने तयारी थालेका छन् । आफ्नो घोषणा पत्र र पुर्व प्रतिवद्धता अनुसार स्मार्ट काठमाडौंका लागि स्वचालित सार्वजनिक शौचालय निर्माण गर्न लागेको पनि उनले बताएका छन् ।

शाक्यको योजना अनुसार नै काठमाडौं महानगरपालिकाले स्वचालिच सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको छ र हाल प्रारम्भिक डिजाइन समेत तयार भैसकेको छ ।

‘स्मार्ट काठमाडौं बनाउने योजना अनुसार नै स्वचालित सार्वजनिक शौचालय निर्माणको काम अघि बढेको हो, अब राजधानीका चोक र बजारहरुमा स्वचालित सार्वजनिक शौचालयहरु निर्माण हुनेछन’, काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले विकासन्युजसँग भने ।

राजधानीका चोक तथा बजार लक्षित गरी बन्ने शौचालयहरु वैज्ञानिक किसिमका हुने महानगरपालिकाले जनाएको छ । शाक्यले काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको ब्यवस्थापन गर्दै थप शौचालयहरु बनाउन तयारी थालिएको बताए ।

डोल्पा एजुकेसनल सोसियल एण्ड इन्भाइरोमेन्टल रिसोर्स टिम (डोल्पा डेजर्ट)ले महानगरपालिकालाई स्वचालित शौचालयको डिजाइन प्रस्ताव गरेको छ । डोल्पा डेजर्टका कार्यक्रम संयोजक रविन्द्र शाहीका अनुसार एउटा शौचालय निर्माणका करिब १६ लाख रुपैयाँसम्म लागत पर्नेछ । शहरी मोडलमा आउने शौचालयलाई केएपी १७ यु अर्बन मोडल नाम दिइएको छ ।

डोल्पामा नमुनाका रुपमा एउटा स्वचालित शौचालय निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ । शाक्यले विद्यामान सार्वजनिक शौचालयलाई सफा र ब्यवस्थित गरेर सञ्चालन गर्न पनि महानगरपालिकाले योजना बनाएर काम गर्ने बताए ।

यस्तो छ फिचर

शाहीका अनुसार नयाँ बन्ने शौचालयमा पैसा तिर्ने विधी फरक छ । यसमा सिक्का राखेर मात्र प्रवेश गर्न मिल्ने व्यवस्था छ ।

यसमा शौचालयमा भइरहेको गतिविधीलाई देखाउन विभिन्न इन्डिकेटर पनि राखिएको हुन्छ ।

यसमा गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि  स्तरीय आयाम प्रदान गरिएको छ । यसमा वास बेसिन, ग्याब बार र विशेष किसिमको कमोड छ ।

शौचालयपछाडी डिस्प्ले बोर्ड पनि राखिएको छ । जसले महानगरपालिकालाई विज्ञापन मार्फत राजश्व संकलन गर्न मद्दत पुर्‍याउँछ ।

यो शौचालय पानी किफायती छ । यो पूर्णरुपमा सोलारबाट सञ्चालित हुनेछ जसले बिजुलीको पनि बचत गर्नेछ । यसमा १८०० लिटरको पानी अटाउने ट्यांक छ भने आकाशे पानी संकलनका लागि ९०० लिटर क्षमताको छुट्टै ट्यांकको पनि व्यवस्था छ ।

यसमा स्वचालित सर्फेस क्लिनिङको व्यवस्था छ । जसले क्रमिक रुपमा शौचालयभित्री र बाहिरी भागमा स्वचालितरुपमा सरसफाई गर्छ ।

समस्या

काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा ४६ सय सर्वसाधारणलाई एउटा शौचालयमा भागमा आउने अनुमान छ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा काठमाडौंमा बाहिरबाट आउने सर्वसाधारण सबैभन्दा बढी पीडित छन् ।

महानगरपालिको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९% घरधुरीमा पानीको पहुँच पुर्‍याउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ ।

वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् ।

हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन ।

नेपाल सडक विक्रेता ट्रेड यूनियनका अनुसार काठमाडौं उपत्यकामा मात्र ३०,००० सडक विक्रेताको जनसंख्या रहेको जस मध्ये २०,००० सडक विक्रेता काठमाडौं महानगरपालिकामा मात्र रहेका छन् ।

सडक विक्रेता शौच गर्न सार्वजनिक शौचालय सेवामा निर्भर रहने गरेका छन् । सडक विक्रेतामा महिलाहरुको संख्या उल्लेखनिय रहेको यूनियनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.