पर्यटक आगमनमा ऐतिहासिक वृद्धि, यस वर्ष विदेशी पर्यटक १० लाख नाघ्दै

  २०७४ मंसिर ४ गते ८:१०     विकासन्युज

नेपालले सन् २०११ मा पर्यटन वर्ष मनाउँदै १० लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि त्यसको ६ वर्षपछि मात्र लक्ष्य पूरा भएको छ । पर्यटक आगमनका दृष्टिले चालू वर्ष (सन् २०१७) मा हालसम्मकै धेरै पर्यटक आउने देखिएको छ । १० महिनाको पर्यटक आगमनदर विश्लेषण गर्दा डिसेम्बरसम्ममा १० लाख पर्यटक पुग्ने देखिएको हो । हालसम्म सबैभन्दा धेरै पर्यटक २०१२ मा ८ लाख ३ हजार भित्रिएको तथ्यांक छ ।

अध्यगमन विभागको तथ्यांकअनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यो संख्या गत वर्षभन्दा १ लाख ४९ हजार ८ सय ९२ पर्यटकले बढी हो । २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्याभन्दा २०१७ को १० महिनामै ४ हजार बढी भित्रिसकेका छन् ।

चालू वर्षको १० महिनामध्ये सबैभन्दा बढी अक्टोबरमा १ लाख १२ हजार ४ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । १० महिनामा सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । “सन् २०१७ मा सबैभन्दा धेरै पर्यटक आउने पक्का भएको छ,” होटल संघ नेपालका महासचिव विनायक शाह भन्छन्, “अहिलेको आगमनदर हेर्दा १० लाखको हाराहारीमा पुग्ने देखिएको छ ।” नेपालका अहिलेको होटलको क्षमता वृद्धि भइ १५ लाखसम्म सहजै पर्यटक धान्ने अवस्था रहेको शाहले जानकारी दिए ।

भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनकोभन्दा ४९ हजार ६ सय ८७ पर्यटकले बढी हो । यस्तै, चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन् । अमेरिकाबाट मात्रै १० महिनामा ६५ हजार २ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट पनि ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । काराेबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.