कृषि, उद्योग, पर्यटन र निर्माणले गति लिदा मुलुकको आर्थिक अवस्था सकरात्मक : राष्ट्र बैंक

  २०७४ मंसिर ३ गते १७:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा मुलुकको समष्टिगत आर्थिक परिदृष्य सकरात्मक देखिएको छ । कृषि उत्पादन, ऊर्जा आपूर्तिमा सुधार, पर्यटन क्षेत्रमा वृद्धि र विकास निर्माणले गति लिएको भन्दै नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्था सकरात्मक भएको ठहर गरेको छ ।

चारवटा मुल आधारले गर्दा मुलुकको आर्थिक अवस्था सन्तोषजनक भएको राष्ट्र बैंकले जनाएका छ । साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अनुमान गरिएको छ । यस्तै उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने, होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार र सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको राष्ट्र बैंकको ठहर छ ।

तरकारी तथा फलफूल जस्ता तुरुन्त नाशवान वस्तुको मूल्यमा उतार चढाव हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको छ । नेपालको मुद्रास्फीति तल माथि भइरहने भएता पनि अन्र्तराष्ट्रिय मुद्रास्फीतिकै प्रवृत्तितर्फ उन्मुख रहेको छ ।

प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवावमा पर्ने देखिन्छ ।
समीक्षा अवधिमा वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको छ भने राजस्वको वृद्धिदर सामान्य रहेको छ । कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको छ ।

सरकारले आर्थिक वर्षको शुरुदेखि नै आन्तरिक ऋण उठाएकाले बैंकहरुलाई कर्जा तथा तरलता व्यवस्थापनमा सहयोग पुगेको छ । घट्दो दरमा रहेको विपे्रषण आप्रवाहका कारण निक्षेपको वृद्धिदर भने सुस्त रहने संभावना बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ । विशेषगरी, पुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.