जाइकाले वेगनास र रुपातालमा १५० मेगावाटको पम्पस्टोरेज आयोजना अध्ययन गर्ने

  २०७४ मंसिर २ गते ८:००     विकासन्युज

काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कास्कीको वेगनास र रुपातालमा पम्प स्टोरेज जलविद्युत आयोजना बनाउन संभाव्यता अध्ययन गर्ने भएको छ ।

जाइकाले पम्पस्टोरेजको प्रारम्भीक अध्ययन गर्न लागेको हो । अध्ययनका लागि प्राविधिक टोली खटिने क्रममा रहेका छन् । प्रारम्भीक अध्ययनपछि मात्र आयोजनाको लागत र क्षमताको निर्धारण हुने छ ।

सरकारले नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजना बनाउनका लागि अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएपछि संभाव्यता अध्ययनको प्रक्रिया अघि बढेको हो । आयोजनाको क्षमता १५० मेगावाट हुने संभाव्यता अध्ययनले देखाएको छ ।

सरकारले पम्प स्टोरेज आयोजनालाई लाइसेन्स दिएको पहिलो हो । लेखनाथको सुन्दरीडाँडास्थिति बेगनासको पानी रुपा तालमा खसालेर विद्युत उत्पादन गर्न सकिने संभाव्यता अध्ययनले देखाएको छ । जलासययुक्त आयोजना हुने भएकाले विद्युतको उच्च माग हुने साँझमा सञ्चालन गर्न सकिने देखिएको छ । साँझको बिजुली माग पुरा गर्न सरकारले यो आयोजना अघि बढाउन लागेको हो ।

आयोजनाबाट वार्षिक २१ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ किलोमिटर दूरीको २२० केभी लेखनाथ सबस्टेसनमा जोडिने छ ।

आयोजनाको लागत १३ करोड डलर अर्थात झण्डै १४ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्यनले देखाएको छ । प्राधिकरणका अनुसार यो लागतमा आयोजना निर्माण हुँदा प्रतिकिलोवाट ८७० डलरमा पूरा हुन्छ ।

जाइकाको सहयोगमा १४० मेगावाटको तनहुँ सेती अर्धजलासययुक्त आयोजना निर्माण हुदै छ । यस्तै १०४ मेगावाटको तल्लो तनहुँ आयोजनाको संभाव्यता अध्ययन हुदैछ । संभाव्य देखिएमा पम्पस्टोरेजमा पनि जाइकाले लगानी गर्ने संभावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.