एक भोटको मूल्य ४ हजार ९२३ रुपैयाँ, तपाईंले कति पाउनुभयो ?

  २०७४ मंसिर १ गते १८:४९     पवन तिमिल्सिना

काठमाडौं । के तपाईंले गएको स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभो ? भोट खसालेबापत कति रकम पाउनुभयो ? अधिकांश मतदाताले एक रुपैयाँपनि नलिई भोट खसाले । मत खसाल्न जाँदा उल्टै मतदाताले आफ्नो गोजीबाट बाटो खर्च बेहोरे ।

के तपाईंलाई थाहा छ – तपाईंको एक भोटका लागि उम्मेदवार र सरकारले कति खर्च गरेका छन् ?

निर्वाचन आयोगका अनुसार सरकार र उम्मेदवारले एक भोट बराबर चार हजार ९ सय २३ रुपैयाँ खर्च गरेका छन् । जसमध्ये सरकारले मात्रै १ हजार ३ सय ९ रुपैयाँ खर्चिएको छ ।

गत स्थानीय चुनावमा ७० अर्ब रुपैयाँ खर्च भएको छ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोग, सरकार र उम्मेदवारबाट ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको खर्च भएको निर्वाचन आयोगको जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचन २०७४ को सिलसिलामा निर्वाचन प्रचार प्रसार अभियानमा निर्वाचन आयोग, सरकारका सम्बद्ध निकायहरु तथा उमेदवारहरुबाट भएको खर्चको अध्ययन गरि “स्टडी अल द इलेक्सन क्यापेन फाइनान्स अफ लोकल इलेक्सन्स २०१७ इन नेपाल’ को अध्ययन प्रतिवेदन आज अन्नपूर्ण होटेलमा आयोजित एक सार्वजनिक कार्यक्रमबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सार्वजनिक गरेका छन् ।

प्रतिवेदनअनुसार आयोगले स्थानीय तहको चुनावका लागि ७ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । यसमा सरकारको खर्च १८ अर्ब ४६ करोड रुपैयाँ निस्किएको छ भने उम्मेदवार तथा तिनका दलबाट ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन सार्वजनिक गर्दै आयुक्तले यस किसिमको अध्ययन लोकतन्त्र सवलिकरणको लागि सहायक हुने व्यहोरा बताउदै निर्वाचन आयोग समेत निर्वाचन सम्बन्धि खर्चको अध्ययन गराउनु पर्ने विषयमा चिन्तनशील रहेको समेत बताए ।

अध्ययन प्रतिवेदनले प्रस्तुत गरेको निष्कर्ष एवंम् सुझावका सम्बन्धमा अध्ययन टोलीका संयोजक विनोदबिक्रम सिजापतिले कार्यपत्रको रुपमा प्रस्तुत गरेका थिए ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेलको सभापतित्वमा भएको समारोहमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय संघ संस्था एवंम् कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायिहरु, सामाजिक संस्थाका पदाधिकारीहरु, नागरिक अभियन्ताहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिती थियो ।

संख्या शिर्षक  करोडमा (रुपैयाँ)
जम्मा खर्च  ६९४२
 मतदाताको संख्या (करोडमा) १.४१
प्रति मतदाता खर्च (रुपैयाँमा) ४९२३
बदर भोट  ०.१७
बदर भोटमा खेर भएको खर्च ११८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.