काठमाडौं महानगरका मेयर विद्यासुन्दरले ल्याए बेवारिसे व्यक्ति उद्धार गर्ने योजना, पालनपोषण गर्न आश्रमलाई १८ लाख दिने

  २०७४ कार्तिक ३० गते १८:२३     पवन तिमिल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका सडकपेटीमा बेवारिसे व्यक्तिहरुको उद्धार गर्ने भएको छ । कष्टकर जीवन जिउन बाध्य त्यस्ता व्यक्तिहरुलाई महानगरपालिकाले उद्धार गर्ने लागेको हो ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले वेबारिसे अवस्थामा रहेका व्यक्तिको उद्धार गर्न लागेको बताए । त्यस्ता व्यक्तिहरुको व्यवस्थापन गर्न छलफल भइरहेको जनाउँदै यो वर्ष्भित्र बेवारिसे व्यक्तिहरुलाई मानवसेवा आश्रमलाई जिम्मामा दिने तयारी भएको जानकारी दिए ।

महानगरपालिकाले बेवारिसे व्यक्तिको व्यवस्थापनका लागि १८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । उनका अनुसार बेवारिसे व्यक्तिको पालनपोषण र रहनसहनका लागि सो रकम आश्रमलाई दिनेछ ।

२०६९ सालमा स्थापना भएको यो आश्रमले सडक–किनारामा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ ।

प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र यसको दीर्घकालिन समाधान खोज्न पहल गरिएको बताए । महानगरपालिका स्थलगत अनुगमनमा जाँदा त्यस्ता बेवारिसे व्यक्तिहरुको उद्दारको बारेमा सोच आएको बताउँदै उनले भने, ‘मानव सेवामा काम गर्नुपर्ने दायित्वबोध भएपछि यो समस्या हेर्ने निर्णय भयो । र त्यसै अनुसार योजना बनाएका छौं ।’

महानगरपालिकाका अधिकांश मुख्य तथा भित्र सडकका पेटीहरुमा थुप्रै व्यक्तिहरु बेवारिसे अवस्थामा रहेका छन् । महानगरपालिकाकाभित्रका सडकपेटीमा भिक्षा माग्ने र बेवारिसे अवस्थामा अपाङ्गता भएका सबै उमेरसमूहका व्यक्तिको जिम्मेवारी महानगरपालिकाले बेहोर्ने शाक्यले जानकारी दिए ।

‘महानगरपालिकाभित्रका सबै मानवको सुरक्षाको जिम्मेवारी हाम्रो दायित्व हो,’ उनले भने, ‘महानगरले आश्रमलाई बेवारिसे व्यक्तिहरुलाई आश्रय दिएबापत भाडा र उनीहरुलाई खुवाउने खानपिन सम्बन्धी सम्पूर्ण खर्च बेहोर्ने छ ।’

त्यस्तै महानगरपालिकाले हराएका बालबालिकादेखि वृद्धसम्मका व्यक्तिहरुको परिवारलाई खोजेर जिम्मा लगाउने उनले बताए । उनले भने, ‘कतिपय व्यक्तिहरु बेवारिसे नहुन पनि सक्छन् । त्यस्ता व्यक्तिको परिवारको खोजीका लागि हामीले महानगर प्रहरीलाई परिचालन गर्नेछौं ।’

महानगरपालिकाभित्र कति वटा व्यक्तिहरु बेवारिसे अवस्थामा छन् भन्ने स्पष्ट जानकारी छैन । यद्यपी भेटिएसम्मका बेवारिसे व्यक्तिहरुको उद्धार गर्ने योजना रहेको शाक्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.