सर्वोच्चले उल्टायो मन्त्रिपरिषद्को निर्णय, २ वर्षपछि नेसनल ट्रेडिङको महाप्रबन्धकमा फर्किए पूर्णशंकर बसी

  २०७४ कार्तिक २९ गते १८:३०     पवन तिमिल्सिना

काठमाडौं । सर्वोच्च अदालतले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकबाट बर्खास्त गरिएका पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । सरकारले गरेको बर्खास्ती न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।

आइतबार न्यायधीश ओमप्रकाश मिश्र र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बसीको रिटमा सुनुवाई गर्दै उनको माग अनुसार फैसला जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

बसीले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न अन्तरिम आदेश माग गर्दै दुई वर्ष अगाडी सर्वोच्चमा रिट दिएका थिए । आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र गैरकानुनीरुपमा हटाएको जिकिर उनले गरेका थिए ।

दुई वर्षअगाडी मन्त्रीपरिषदले ‘अयोग्य’ ठहर गर्दै बसीलाई पदच्यूत गरेको थियो । मन्त्रिपरिषदको निर्णय विरुद्ध बसी सर्वोच्च पुगेका थिए ।

किर्ते गरेको आरोपका आधारमा २०७२ असोज २२ मा सुशिल कोइराला नेतृत्वको सरकारले बसीलाई पदबाट बर्खास्त गरेको थियो । मन्त्रिपरिषदले उनलाई किर्ते गरेको आरोपमा बर्खास्त गरी सत्यनारायण मेहतालाई नियुक्त गरेको थियो ।

खाद्य संस्थानमा ११ औं तहको कर्मचारीबाट अवकाश पाएपछि उनले बज्रयोगिनी ट्रेडर्समार्फत एकल सञ्चालकको रुपमा कारोबार सुरु गरेका थिए । सोही बेलामा उनले चामलका लागि टेन्डर भर्दा स्टाण्डर्ड चार्टर्ड बैंकको ६० लाख रुपैयाँ बराबरको फर्जी भौंचर पेश गरेको आरोप थियो ।

सरकार परिवर्तन हुनु एक दिन अगाडी मन्त्रीपरिषदले आफूलाई बर्खास्त गरेको बसीले जानकारी दिए । उनले भने, ‘मलाई स्पष्टिकरण लिएको ९ महिनापछि नै पदबाट हटाइएको थियो ।’

२०७१ माघ १२ मा उनलाई तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादूर थापाले संस्थानमा महाप्रबन्धकका रुपमा भित्र्याएका थिए । मन्त्रीपरिषदले उनलाई चार वर्षको कार्यकाल रहने गरी महाप्रबन्धकको जिम्मेवारी दिएको थियो ।

सर्वोच्चको निर्णयपछि अब उनले करिब १६ महिना कार्यकाल चलाउनेछन् । यसैगरी उनले दुई वर्ष अवधिमा महाप्रबन्धकले पाउनुपर्ने तलबभत्ता पनि पाउने मन्त्रालयले जानकारी दिएको छ ।

आफुलाई हटाएर नेसनल ट्रेडिङलाई डुबाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले नेसनल ट्रेडिङको  सम्पती लिलाम गर्दै बेचेकोमा सरकारको आलोचना गरेका छन् । उनले भने, ‘व्यापारिक संस्थानको क्लोजिङ गर्ने समयमा लिलामीका कामहरु भइरहेका छन् । भएका कर्मचारीहरुलाई पनि हटाइएका छन् ।’

सर्वोच्चको आदेशपछि बसीलाई प्रकृयागत हिसाबले मन्त्रालयले महाप्रबन्धकको जिम्मेवारी दिने तयारी गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषदबाटै निर्णय गराएर बसीलाई पुनर्बहाली गराउनुपर्ने प्रावधान छ ।

आफूलाई तीन वर्षको नियुक्ती दिएपनि पुरा कार्यकाल काम गर्न नदिएको भन्दै सत्यनारायण मेहताले फेरि महाप्रबन्धकको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् । उनले भने, ‘सर्वोच्चले किर्ते गरेको प्रमाण नहेरी बसीलाई पुनर्बहाली दिएको छ । मन्त्रिपरिषदको निर्णय मात्र हेर्ने हो भने मेरो पनि कार्यकाल अझै बाकी छ ।’

करोडौं अनियमितताको आरोपपछि भर्खरै मेहतालाई महाप्रबन्धकबाट स्वैच्छिक अवकाश दिएर हटाइएका थिए । मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महाप्रबन्धकको जिम्मेवारी उपसचिव लवराज जोशीलाई दिएको थियो ।

‘नेशनल ट्रेडिङ डुबाउने मेहतालाई पुनःमहाप्रबन्धक बनाउन मन्त्री शिवकुमार मण्डलको चलखेल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.