निर्वाचन आयोगद्धारा ‘नमूना मतदान’ अभ्यास

  २०७४ कार्तिक २९ गते १५:३३     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए।

नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने बताउँदै उनले “पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छ,” भने ।

उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त डा यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग उच्चस्तरमा कुरा भइरहेको र यसलाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको पूर्ण प्रत्याुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

शुरुमा नमूना मतदान गर्नुभएका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको बताउँदै यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताए ।

उनले निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिवद्धता रहेको बताए।

आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो ।

नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र (प्रतिनिधिसभाको) प्रदान गरिएको थियो । कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए ।

त्यसपछि दोस्रो कालो मतपत्र ९प्रदेशसभाको० दिइएको थियो । त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए । लगत्तै तेस्रो रातो मतपत्र (समानुपातिक) दिइएको थियो । उक्त मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो । कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए ।

नमूना मतपत्रका बारेमा आयोगका सूचना अधिकरी सूर्यप्रसाद अर्यालले जानकारी गराएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.