दृष्टिविहीनलाई निर्वाचन आयुक्तले भने, ‘भोटिङ मेसिन छैन, सहीरुपमा मतदान गर्नुस्’

  २०७४ कार्तिक २८ गते १७:३५     विकासन्युज

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दृष्टिविहीन नागरिकलाई सही ढंगले मतदान गर्न आग्रह गरेका छन् ।  स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आयोगको सन्देशबाहक दूतको रुपमा काम गर्न दृष्टिविहीन नागरिकलाई आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘दृष्टिविहीन नागरिकका लागि मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रिय निर्वाचनका रूपमा हुन गइरहेको आगामी निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा ऐतिहासिक तुल्याउन दृष्टिविहीन नागरिकबाट निर्वाचन आचारसंहिताको पालनाका लागि जिल्लामा अभियान चलाउन अनुरोध गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘‘मतदान गोप्य हुनुपर्दछ भन्ने विश्वव्यापी मान्यता हो, प्रविधिमा अहिले हामी पछि छौँ, यसको प्रयोग गर्दै जाने छौँ, तपाईहरुको माग पूरा गर्न भोटिङ मेसिनको प्रयोग गर्नेभन्दा अर्काे विकल्प छैन, यस वर्ष नै मतदानमा प्रविधिको प्रयोग गर्ने भनेकोमा समयको चापका करण दृष्टिविहीन नागरिकको मागअनुसारको प्रविधिको प्रयोगतर्फ फड्को मार्न सकेनौं, यद्यपि विशेष नागरिकले विशेष सुविधा पाउनुपर्छ भन्नेमा दृढ छौं ।’’

उनले शिक्षकको भूमिकामा रहनुभएका तपाईहरूले दल विशेष र उम्मेदवारको पक्षमा नलागी स्वतन्त्ररुपमा मतसंकेत गर्न सिकाउन सुझाव दिए।  प्रमुख आयुक्त यादवले भने, ‘‘तपाईहरुबाट आयोग ठूलो भूमिकाको अपेक्षा गरेको छ, मत सहीरूपमा संकेत गर्ने सन्देश घर परिवार र समाजमा पुर्‍याउनु होला, एकाघरको विश्वास गरेको सहयोगी लिएर आफूले मन पराएको उम्मेदवारलाई मतदान गर्नु होला ।’’

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले सहीरूपमा मत सङ्केत गरी बदर मत प्रतिशत घटाउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सिकेको ज्ञान अरूलाई प्रवाह गरी बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन प्रेरित गर्न सुझाव समेत दिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आगामी निर्वाचनमा फरक फरक खाले मतपत्र भएकाले मतदाताबाट सहीरूपमा मत संकेत होस्, बदर मतप्रतिशत घटाउन योगदान दिन सकियोस् भन्ने उद्देश्यका साथ काम गर्न आवश्यक रहेको बताए ।

युएनडीपी इएपी परियोजनाका उपनिर्देशक कुन्दनदास श्रेष्ठले विश्वासनीय, समावेशी र सर्वस्वीकार्य निर्वाचनका लागि आफ्नो संस्थाले निर्वाचन आयोगलाई सहयोग पुर्‍याउँदै आएको बताए ।

नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले मतदानमा दृष्टिविहीनताको गोपनीयताको अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । उनले भने, ‘दृष्टिविहीनको मतदान गोप्य हुनुपर्छ भन्ने लामो समयदेखिको माग पूरा हुन सकेको छैन, खोइ त हाम्रो गोपनीयताको अधिकार, हामी कहाँ गएर कराउने, निर्वाचनका सन्दर्भमा हामीले सिकेको ज्ञान छरछिमेकीलाई पनि सिकाउने छौं ।’

कार्यक्रममा नेत्रहीन संघको ४७ जिल्लामा संस्था रहेको तथा प्रशिक्षणमा आउने अधिकांश दृष्टिविहीनहरू शिक्षकको भूमिकामा रहेको जानकारी दिएका छन् । प्रशिक्षणमा ६९ जिल्लाका ८० जनाको सहभागिता रहेको छ र उहाँहरुलाई मतदान, मतदानको अधिकार, मतदानको प्रक्रिया र सहीरूपमा मतदान गर्ने तरिकाबारे प्रशिक्षण दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.