तरकारीको भाउमा बिचौलियाको चलखेल, अर्थ मन्त्रालयले छानबिन गर्ने

  २०७४ कार्तिक २६ गते १८:३७     पवन तिमिल्सिना

काठमाडौं । बिचौलियाको चलखेलका कारण तरकारीको भाउ आकाशिएको पाइएको छ । व्यवसायीले आपूर्ति घटेकाले तरकारीको भाउ बढेको दाबी गरिरहँदा बिचौलियाले मनोमानी ढंगले तरकारीको भाउ बढाएको कुरा बाहिर आएको छ ।

आपूर्ति विभागले कालिमाटीमा गरेको अनुगमनमा बिचौलियाले मनोमानी ढंगले तरकारीको मूल्य तय गरेको पाइएको हो । अत्याधिक मूल्य वृद्धि भएपछि विभागले गत शनिबार मध्यरातमा कालीमाटी तरकारी बजारमा अनुगमन टोली पठाएको थियो ।

अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीले उपत्यकामा तरकारी भित्रने प्रमुख नाका कलंकीदेखि कालीमाटी बजारसम्म अनुगमन गरेको थियो । सो अनुगमनमा तरकारीको मूल्य बिचौलियाले नै मनोमानी ढंगले कायम गरी बजारमा पठाउने गरेको श्रेष्ठले जानकारी दिए ।

उनले भने, ’ढुवानीकर्ताले तरकारी ल्याएपछि बिचौलियाले भण्डारण गर्दोरहेछ । तरकारी कति आए त्यसको कुनै हिसाबकिताब राखेको पाइएन ।’

बिहानसम्ममा बिचौलियाहरुले तरकारीको कुनै मूल्य निर्धारण गर्दैनन् । ३ बजेपछि तरकारी किन्न आउने बिक्रेताको भीड लागेपछि अवस्था हेरेर तरकारीको मूल्य तय गरेको पाइएको श्रेष्ठले जानकारी दिए । उनले भने, ’बिक्रेताको भीड हेरेर तरकारीको मूल्य निर्धारण गरिदो रहेछ ।
यसमा किसानबाट लिएको दामको कुनै मूल्यांकन गरिएको हुँदैन ।’

तरकारीको आपूर्तिमा कुनैपनि समस्या नभएको विभागका महानिर्देशक कुमार दाहालले बताए । उनले भने, ’तरकारीको आपूर्तिमा खासै ठुलो समस्या होइन । यहाँ बिचौलियाको चलखेल महत्वपूर्ण छ ।’ “बढी मूल्य तिरेमा यहाँ तरकारी जतिपनि पाइदो रहेछ” उनले भने ।

रसिदमा ’मनपरी’

अनुगमनका क्रममा तरकारीको खरिद बिक्रीका रसिदहरु अस्पष्ट पाइएको छ । टोलीले संकलन गरेका रसिदहरुमा कुनैमा मात्रा वा संख्या पनि उल्लेख नगरी तरकारीको मनपरी भाउ निर्धारण गरी किनबेच भइरहेको पाइएको हो ।

तरकारीको रसिद

कुनै रसिदमा झोला वा प्रति गोटाका आधारमा पनि तरकारी बेचेको उल्लेख छ । रसिदमा बिक्रेताको नाम समेत स्पष्ट उल्लेख नगरेको पाइएको छ ।

भारतबाट ल्याउने तरकारीको रसिदमा समेत तरकारीको दर नतोकी कारोबार गरेको पाइएको छ । जय सवाल एस के स्टोभ नामक कम्पनीको नाममा रहेको सो रसिदमा दरको दरभाउ लेखिएको छैन । एकचोटी ७ हजार ५ सय केजी तरकारालाई ८६ हजार दुई सय ५० रुपैयाँमा खरिद गरिएको छ ।

विभागका महानिर्देशक दाहालले भने, ’खरिद गर्ने बिक्रेताको नाम समेत स्पष्ट छैन । काँकडभित्तादेखि आएको काउलीरबन्दा प्रति गोटाको दरमा किनबेच गरिएकोसम्म पाइएको छ ।’ व्यापारीको इच्छा अनुसार तरकारीको मूल्य निर्धारण भइरहेको दाहालले बताए ।

थप छानबिनको जिम्मा अर्थ मन्त्रालयलाई दिने

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले तरकारीमा भएको विचौलियाको चलखेलमाथीको छानबिनको जिम्मा अर्थ मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

तरकारीको बिलमा नै मनोमानी देखिएपछि अर्थलाई छानबिनको जिम्मा दिने निर्णय गरेको मन्त्रीपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले जनाएका छन् ।

उनले भने, ’आपूर्ति विभागले गरेको अनुगमन अनुसार बिचौलियाको चलखेल भएको प्रष्ट छ । यद्यपी मूल्यको कुरा राजश्वसँग जोडिएकाले यसलाई थप अनुसन्धानका लागि अर्थ मन्त्रालय पठाइने भएको छ ।’

उनले कृषि मन्त्रालयलाई पनि तरकारीको मूल्यवृद्धिको सम्बन्धमा अध्ययन गरी रिपोर्ट तयार पार्न निर्देशन दिएका छन् । तरकारीमा भएको अस्वभाविक मूल्यवृद्धिको तत्काल समाधान खोज्न पनि कृषि मन्त्रालयलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.