अनुगमनमा निस्किएका मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा अडिएर निर्देशन दिए-‘तुरुन्त ढल निकासको काम सक्नु’

  २०७४ कार्तिक २६ गते १३:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोर र धुवाधुलोको सामना गर्न महानगरवासी बाध्य छन् । महानगरको अस्तव्यस्ताले गर्दा मानिसहरुको समेत दिनचर्या नै प्रभावित भइरहेको छ ।

‘काम नगरेको’ भन्दै आलोचित भइरहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य आइतबार महानगरबाट ‘अव्यवस्थित सहर’मा परिणत भइरहेको काठमाडौंको अनुगमनका लागि कार्यालय बाहिर निस्किए । महानगरपालिकाका उपप्रमुख लगायत सचिवालयका सदस्य सहित कर्मचारी टोलीमा थिए ।

अनुगमनको सुरुवात महानगरपालिकाको कार्यालय बागदरबार बाट नै सुरु भयो । बागदरबारबाट हिड्दै टोली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, त्री चन्द्र क्याम्पस हुँदै राष्ट्रिय सभा गृहमा गएर टुंगियो ।

प्रमुख शाक्यले ती स्थानहरुमा बगैंचा, सडकपेटी, सडकमार्ग, ढल, पार्किङ स्थल र होर्डिङ बोर्डको अवलोकन गरेका थिए । र, उनले वीर अस्पतालबाट रत्नपार्कको बाटो गुज्रिँदै गर्दा ढल बगीरहेको पाइयो । सोही स्थानमा अडिएर अनुगमन कार्यक्रमलाई मन्तव्य दिँदै उनले निर्देशन दिए – ‘तुरुन्त ढल निकासको काम सक्नु ।’

उनले देखाउनका लागि नभई परिणाम निकाल्ने हिसाबले काम अगाडी बढाउन आग्रह गरेका छन् ।

उनले राजधानीका विभिन्न स्थानमा रहेका बगैंचामा रेलिङ हटाउन निर्देशन दिए ।

महानगरवासीलाई विश्वासमा राखेर काम गर्नुपर्ने भन्दै उनले सो रेलिङ हटाउन निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले कसैले फुल टिपेर बगैंचा बिगार्छ भनेर अल्छि गर्नुभएन ।

रेलिङ राख्नु भनेको जनतालाई अविश्वास गर्नु हो । फुल उमार्नु हाम्रो उद्येश्य हो बरु त्यसको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्छ ।’

शाक्यले सडकमा भएको फोहोर र धुलो सफा गर्न कर्मचारी तथा महानगर प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘फोहोर सफा गर्न पनि अरुको मुख ताक्नुपर्दैन । हामीसँग प्रशस्त जनशक्ती छ, त्यसैलाई सदुपयोग गरेर सफा गर्नुपर्‍यो ।’ ब्रुमरका लागि टेन्डरको प्रक्रिया अगाडी बढिसकेको उनले जानकारी दिए ।

विभिन्न स्थानमा होर्डिङ बोर्ड हटाउनका लागि ट्राफिक प्रहरीसँग सहमती भइसकेको उनले बताए । उनले भने, ‘अब कुनैपनि होर्डिङ बोर्ड राख्न महानगरपालिकासँग सोध्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.