सोमबारदेखि यातायातमा जोर विजोर नियम लागू गरिने तर महिला चालकलाई छुट

  २०७४ कार्तिक २३ गते २१:०६     विकासन्युज

नयाँ दिल्ली । नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ ।

यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ ।

“जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म एक दिन जोर नम्बर प्लेट भएका गाडी र अर्को दिन विजोर नम्बर प्लेट भएका गाडी गुड्नेछन्,” दिल्लीका यातायात मन्त्री कैलास गाहलटले जानकारी गराए । महिलाले चलाउने गाडी र दुई पाङ्ग्रे गाडीलाई भने जोर विजोर नियम वाध्यकारी रहने छैन ।

उनले वातावरणको विषयलाई मध्यनजर गर्दै दिल्ली र दिल्लीसँग जोडिएका राज्यका मुख्यमन्त्रीको बैठक बोलाई समस्या समाधानका लागि पहल थाल्न आग्रह गरे ।

दिल्ली सरकारले दिल्ली यातायात कर्पोरेसनलाई पाँचसय बसलाई भाडामा लिएर जोर विजोर नियम लागू भएको समयमा राजधानीको आवतजावतमा सहज सुविधा प्रदान गर्न पनि आग्रह गरेको छ ।

दिल्ली महानगरले सो समयमा सेवा दिनका लागि १०० साना बसहरू दिने आश्वासन दिएको छ । विद्यालयहरूले आफ्ना गाडीहरूलाई स्वेच्छिक रूपमा सेवा दिन सक्ने तर वाध्य भने नहुने, मन्त्री गाहलटले बताए । जोर नम्बरका गाडीले जोरबार र विजोर नम्बरका गाडीले विजोरबार सडकमा चल्न अनुमति पाउनेछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.