धितोपत्र बोर्ड र राष्ट्र बैंकले सूचना साटासाट गर्ने

  २०७४ कार्तिक २३ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले सूचना साटासाट गर्ने सम्झौता भएको छ । सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न तथा उत्पन्न हुन सक्ने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्र बजार एवं वित्तीय गतिविधिहरु मार्फत् वित्तीय स्थायित्व कायम गर्न बिहीबार उक्त सम्झौता गरिएको हो ।

साथै, अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रका गतिविधिहरुलाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न, वित्तीय क्षेत्रमा हुने गलत कार्यहरु बैंकिङ्ग कसूर तथा धितोपत्रको भित्री कारोवार लगायत अन्यविविध कसूरका कारण धितोपत्र बजार लगायत सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न दुई पक्षीय सम्झौताले सहयोग गर्ने बोर्डले जनाएकाे छ ।

त्यस्तै, साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोबार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धानका लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार उक्त सम्झौता गरिएकोे बोर्डले जनाएको छ ।

बोर्ड धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम आइओएससीओको एशोसियट सदस्य भइसकेको छ ।

यसबाट नेपालको धितोपत्रबजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख अझ बृद्धि हुने अपेक्षा बोर्डले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.