सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार…

  २०७४ कार्तिक २१ गते १८:४९      लीलानाथ घिमिरे

लेखक

कुनै बेला गायक कृष्णविक्रम थापाले गाएका थिए, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, र्मायो नि मायाले र्मायो..।’ यही गीतले चिनायो सिन्धुलीगढीलाई । सिन्धुलीगढी २२० बर्षदेखि वीरताको इतिहास बोकेर त्यतिकै ठिंग उभिइरहेको छ ।

एक छिन फर्कौं इतिहासतिर । विक्रम संवत् १८२४ सालमा अंग्रेज फौजलाई तत्कालीन बीर गोर्खाली फौजले हराएको थियो यस स्थलमा । कहिल्यै पराजित नभइ संसारमा साम्राज्य खडा गर्दै हिँडेको बेलायतलाई हराएको पनि यस बर्ष २५० बर्ष पुगेछ । इतिहास लेख्नेहरु भन्छन्, यस स्थलमा गोर्खालीले बलले भन्दा बुद्धिले लडाईं लडेका थिए । त्यसैले उनीहरुले कम्पतान किनलकको नेतृत्वको अंग्रेजी फौजलाई परास्त गर्न सके ।

महाभारत डाँडामा रहेको यो स्थल सामरिक दृष्टिले पनि महत्वपूर्ण छ । अंग्रेज फौज तराइ हुँदै आएका थिए । गोर्खाली सेना पहाडको टुप्पामा किल्ला जमाएर बसेका थिए । अंग्रेजहरु जसै उकालो अगाडि बढे, गोर्खालीले अरिंगालको गोलामा ढूंगा हानिदिए ।

ढुंगाले लागेर बिच्किएका अरिंगा अंग्रेजी फौजमाथि खनिए । त्यतिखेर त्यस भेगमा अल्लो, सिस्नु प्रसस्त पाइन्थ्यो, अहिले पनि पाइन्छ । त्यही सेउलाले अरिंगाललाई धपाउन खोज्दा अंग्रेज फौजलाई झन् पोल्यो । भनिन्छ, त्यतिखेर अंग्रेजी फौज ‘झिँगै (अरिंगाललाई सायद उनीहरुले फ्लाइ भने होलान्) बैरी, पातै (अल्लो सिस्नु) बैरी, मान्छेको त के कुरा गर्नु’ भन्दै लडाईं छाडेर भागेका थिए । त्यतिखेर किनलकको नेतृत्वमा आएको २४०० अंग्रेज फौजलाई गोर्खालीले परास्त गरेको इतिहास छ । गोर्खाली सेनाको नेतृत्व वंशु गुरुङले गरेका थिए । अंग्रेजी फौजको यो संसारमै पहिलो हार थियो । यस स्थलमा त्यतिखेर अंग्रेजी फौजलाई परास्त नगरेको भए अहिलेको नेपालको नक्साको आकार कस्तो हुन्थ्यो भनेर अनुमान मात्र गर्न सकिन्छ ।

सिन्धुलीगढी इतिहास बोकेको स्थल भएकाले आफैंमा हरेक नेपालीको गन्तब्य स्थल हुँदै हो, त्यसमा पनि यसको अवस्थिति, हावापानी, यातायातको सुगकमता र प्राकृतिक वातावरणले समेत यसलाई प्रदेश नम्बर ३ को एक मात्र गन्तब्य बन्न सक्ने सम्भावना छ ।
काठमाडौंबाट धुलिखेल हुँदै बिपी राजमार्ग भएर सिन्धुलीगढी पुग्न सकिन्छ । सुनकोशी तिरैतिर भएर जाने नागवेली सडक आफैंमा एउटा गन्तब्य हो । काठमाडौंबाट सार्बजनिक सवारी साधनमा ४ घन्टामा सिन्धुलीगढी पुग्न सकिन्छ । आफ्नै सवारी साधन हुनेहरु ३ घण्टामै पुग्न सक्छन् । पूर्वी तराईबाट आउँदा पूर्वपश्चिम राजमार्गको बर्दिबासबाट बढीमा दुई घन्टामा सिन्धुलीगढी पुग्न सकिन्छ ।

महाभारत डाँडमा रहेको यस स्थलबाट तराईका फाँट र उत्तरका हिमालको रमणीय दृश्य हेर्न सकिन्छ । गढी डाँडोमा पुग्ने बित्तिकै सबैको फुरुङ्ग हुन्छ । तराईमा चर्को गर्मी हुने बेला यहाँ आउनेहरु शितल अनुभूति गर्न सक्छन् । यहाँ कहिल्यै गर्मीको अनुभूति हुँदैन । चिसो, मन चंगा बनाउने हावाले पर्यटकलाई लोभ्याउँछ । गढीमा सधैं हुस्सुले लुकामारी खेलिरहेको हुन्छ ।


सिन्धुलीगढी वरपरका गाउँ जुनार उत्पादनका लागि प्रसिद्ध छन् । हिमालतिर फकिएका उच्च पहाडमा हुने रसिलो जुनारले सिन्धुली जिल्लालाई मुलुकमा मात्रै हैन विदेशमा समेत चिनाएको छ । जुनरको विकास र विस्तारमा जापान सरकारले समेत लगानी गरेको छ । सिन्धुलीगढी पुग्ने हरेक ब्यक्तिले खनियाँखर्क, सोलाभञ्ज्याङमा जुनार किन्न पाउँछन् । अलि पर घुम्न जानेहरुले चपौली, खनियाँखर्क लगायतका गाउँमा आफ्नै हातले जुनारसुन्तला टिपेर खान पाउँछन् ।
सिन्धुलीगढी जानेहरुलाई लक्षित गरेर खनियाँ खर्कमा केही होटल खुलेका छन् । समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्ड र सिन्धुली उद्योग बाणिज्य संघसँगको सहकार्यमा गढीवरपरका गाउँबस्तीमा होमस्टे संचालन गर्न तालिम दिएको छ । महोत्सवका बेलासम्म ती होमस्टेसमेत संचालनमा आउने छन् ।
गढीपरिसरमा सिद्धबाबाको मन्दिर दर्शन गर्न पाइन्छ । त्यहाँ रहेको ११२ वर्ष पुरानो घण्टी मदिन्दरको आकर्षण हो । गढीवरपर वनभोज स्थल बनाइएको छ । तराइबाट समेत यहाँ बनभोज खान धेरै ब्यक्ति आउँछन् ।
गढीको संरक्षणमा पछिल्लो समय निकै प्रयास भएको छ । मुलक संघीयतामा गएपछि सिन्धुलीगढी कमलामाइ नगरपालिकाको स्वामित्वमा आएको छ । नगरपालिकाले गढीको संरक्षणका लागि गुरुयोजना बनाउने तयारी गरेको छ । यसअघि वेवारिसेजस्तै रहेको गढीमा अहिले तारबार गर्ने तयारी भएको छ । वीपी राजमार्गको सोलाभञ्ज्याङबाट गढी पुग्ने बाटोलाई स्तरीकरण गरिएको छ । अहिले सिँढी उक्लिएर १० मिनटमा र आफ्नै सवारी साधन लिएर ५ मिनटमा गढी पुग्न सकिन्छ ।

गढी संरक्षणमा पछिल्लो समय नेपाली सेनाले समेत चासो देखाएको छ । सेनाले त्यस क्षेत्रको सरसफाइ गर्नुका साथै इतिहास झल्काउने विभिन्न सामग्रीलाई होर्डिङ बोर्ड बनाएर राखेको छ । विभिन्न ऐतिहासिक स्थलको जानकारी दिने साइनेज बनाएर ती ठाउमा राखिएको छ । सेनाले बनाएको ऐतिहासिक सिन्धुलीगढीबारेको बृत्तचित्र घुम्न आउनेहरुलाई दैनिक देखाउने ब्यवस्था मिलाइएको छ ।
यही स्थलमा हरेक बर्ष विजयको झण्डा फहर्याएको सम्झनामा गढीमा हर्षोल्लासपूर्वक विजयोत्सव मनाउने गरिएको छ । विजयोत्सव सुरु गर्दा कात्तिक २४ गतेलाई विजय हासिल गरेको दिन भनेर सुरु गरिएको थियो । पछि मिति भने केही फरक देखिएको छ । अंग्रेज फौजका केही सदस्यलाई रातु खोलाले बगाएको कुरा इतिहासमा पाइन्छ । त्यसैले त्यो मिति असोजतिर हुने अनुमान केही इतिहासकारको छ । अझै मिति भने यकिन हुन सकेको छैन । जे होस् विजयोत्सव मनाउन सुरु भएको छ । दशैं चैतमा पर्ने भनेर असोज–कात्तिकमा सारे जस्तै असोजमा चाडबाड पर्ने हुनाले सबै काम सकेर कात्तिक अन्तिममा बिजयोत्सव मनाउनु उपयुक्त छ ।
संयोगले यस बर्ष अंग्रेजलाई हराएको २५० बर्ष पूरा हुँदैछ । यस्तो अबसर न पहिले आएको थियो, न पछि आउने छ । त्यसैले यस बर्षको महोत्सवलाई भब्य बनाउने समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी साइकल यात्रा, कला शिविरलगायतका कार्यक्रम गर्दैछ । काठमाडौंलाई सिन्धुलीसम्म जोड्ने गरी अभियानले गत बर्षदेखि गर्दै आएको साइकल यात्रामा यस बर्ष १५० जनाभन्दा बढी सहभागी हुँदैछन् । साइकल यात्राको उद्घाटन उपराष्ट्रपछि नन्दबहादुर पुनले गर्नु हुनेछ । सिन्धुलीगढीमा हुने विजयोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु हुनेछ । राष्ट्रप्रमुख र उपप्रमुखले ऐतिहासिक सिन्धुलीगढीमा हुने विजयोत्सवलाई महत्व दिएर सहभागिता जनाउने कुराले यसको गरिमालाई अझै बढाएको छ ।

हरेक नेपाली एक पटक आफ्नो पूर्खाले बीरता देखाएको इतिहास बुझ्न एक पटक सिन्धुलीगढी पूग्नै पर्छ । यस इतिहासलाई पर्यटनसँग जोड्न समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढीलाई ब्रान्डिङ गरेर एडभेन्चर यात्रामा रमाउने विदेशीलाई समेत सहभागी गराउने योजना बनाएको छ । गत बर्ष ८२ जना साइकल यात्री सहभागी भएकामा यस बर्ष ११० भन्दा बढीले सहभागीताका लागि नाम दर्ता गराउनुले यसको महत्व अझ बढेको छ । यस बर्ष ४ जना विदेशी समेत साइकल यात्रामा सहभागी हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.