गोलभेडा बिग्रिएर हैरान हुनुहुन्छ ? यसरी जोगाउन सकिन्छ बारीदेखि बजारसम्म

  २०७४ कार्तिक २१ गते १०:००     विकासन्युज

काठमाडौं । खेतबारीदेखि थोक बजारसम्म गोलभेडा आइपुग्दा दरफर्‍याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्या हुन्छ । खुद्रा बजारमा पनि गोलभेडा कुहेर गुणस्तर ह्रास आउँछ ।

गोलभेडाको गूणस्तर (स्वरुप-रङ्ग, स्वाद, बासना र पौष्टिकता) कायम राख्न, भण्डारण अवधि बढाउन र उपभोक्ताहरुको हितका लागि यसको उचित ढंगले आपूर्ति गर्नु आवश्यक छ ।

पानीको उच्च मात्रा हुने र कमलो प्रकृतिका कारण अन्य ताजा तरकारीझैं हिउँदे गोलभेडा पनि छिटो नाश हुने गर्दछ । उपयुक्त परिपक्व अवस्थामा गोलभेडा टिपिएन र टिपेदेखि बिक्रीसम्मको आपूर्ति श्रङ्खलामा उचित ढंगले व्यवस्थापन नगर्दा गुणात्मक तथा परिणात्मक दुवै क्षति हुन्छ ।

नेपाली भान्छाघरमा अति लोकप्रिय तरकारीहरुमध्ये गोलभेडा एक हो । चराचुरुङ्गीको आक्रमणबाट फलहरुलाई जोगाउन जाली प्रयोग गरी संरक्षित खेती अन्तर्गत हिउँद महिनामा यसको खेती गरिन्छ ।

भिटामिन सी, पोटासियम, फोलिक एसिड र लाइकोपिन तथा क्यारोटिन जस्ता भिटामिन ए को असल स्रोत भएको गोलभेडाले स्थानीय आहार तथा मानव स्वास्थ्यमा योगदान दिने विज्ञहरु बताउँछन् ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ)ले सार्क राष्ट्रहरुमा खेतबारीदेखि बजारसम्म (पोष्ट-हार्भेष्ट) गोलभेडाको क्षति न्यूनिकरणका लागि नौलो अभ्यास गरेको थियो । पोष्ट-हार्भेष्ट क्षति न्यूनिकरण अन्तर्गत परम्परागत गोलभेडा आपूर्ति शृङखलामा सरोकारवालाहरुसँग मिलेर बङ्गलादेशमा विभिन्न सुभारिएका परिक्षण गरिएका थिए ।

यसरी परिक्षण गर्दा खेतबारीदेखि खुद्रा बजारसम्म गोलभेडाको क्षतिलाई ३६.९ प्रतिशतबाट झारेर २.१ प्रतिशत पुर्‍याइएको थियो । त्यस्तै थोक बजारमा १६.७ प्रतिशत क्षति हुने गरेको गोलभेडामा उक्त परिक्षणपछि कुनै क्षति देखिएको थिएन ।

त्यसपछि ती दिनको खुद्रा बिक्री अवधिमा नयाँ अभ्यासको प्रयोग गरी भण्डारण गरिएङ्को गोलभेडाको दानाको गुणस्तर तथा भण्डारण अवधि परम्परागत अभ्यास भन्दा राम्रो र गूणस्तरीय छ ।

गोलभेडा आपूर्तिमा ह्न्डलिङ गर्ने उचित तरिका

टिप्ने : परम्परागत अभ्यासमा टिपिएका गोलभेडा राख्न कागजको पत्र सहितको बाँसको टोकरी प्रयोग गरिन्छ । तर यसलाई प्लाष्टिकका बाल्टिन र संकलनका लागि प्लाष्टिक क्रेटको प्रयोग गर्नुपर्छ ।

छाँटकाँट गर्ने : सामान्यतया गोलभेडाको डाँठको छाँटकाँट नगरी टिप्ने गरिन्छ । तर कैंचीले फलको फेद नजिकैसम्मको गोलभेडाको डाँठ काट्नुपर्छ ।

सफा गर्ने : खुद्रा बजारसम्म गोलभेडालाई सफा नगरी ल्याउँदा फल कुहिने सम्भावना हुन्छ । यसलाई १५० पीपीएम क्लोरिनेटेड पानीले धुनुपर्छ ।

प्याकेजिङ : गोलभेडाको आपूर्ति गर्दा यसको प्याकेजिङमा पनि सावधानी अपनाउनुपर्छ । यसलाई बोरामा खाद्ने गलती नगर्नुहोला । कम्तीमा ५० किलो अटाउने चारैतिर अखबारको पत्र सहितको प्लाष्टिक क्रेट प्रयोग गर्नुपर्छ । यसले दरफर्‍याउने, खुम्चिने र चर्किने वा फुट्ने समस्यालाई न्यूनिकरण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.