अब सेयर बजार धेरै घट्ने संभावना छैन, लगानी गर्ने उपयुक्त मौका यही हो : नन्दकिशोर मुन्दडा

  २०७४ कार्तिक १९ गते १०:१५     विकासन्युज

२०२६ सालमा विदेशी सामानको व्यापारबाट औपचारिक रुपमा व्यापारमा प्रवेश गरेका नन्दकिशोर मुन्दडाले अहिले सेयर बजार, जुट मिल, स्कुल र जलविद्युतमा आफनो लगानी विविधिकरण गरेका छन् । व्यापार थालेको झण्डै ३ दशकपछि सेयर बजारमा प्रवेश गरेका मुन्दडाले ०५५ सालमा बाबा जुट मिलको स्थापना गरेका थिए । त्यसपछि उनको देवेन्द्र समूह औपचारिक रुपमा उद्योगमा प्रवेश गरेको हो । पछिल्लो समयमा साढे ३ मेगावाटको चर्नावती र २० मेगावाटको तल्लोमोदी जलविद्युत आयोजनामा लगानी गरेका छन् । जुट उद्योग र स्कुल व्यवसाय भाइले सम्हालेका छन् । मुन्दडा अहिले सेयर र जलविद्युत व्यवसाय सम्हाल्दै आएका छन् । उद्योगबाट भन्दा सेयरमा बढी नाफा पाइने बताउने मुन्दडासँग विकासन्युजले गरेको कुराकानीको अंश :

यहाँ सेयर बजारमा कसरी प्रवेश गर्नुभयो ?
२०५१ सालमा नेपालमा सेयर बजारमा ब्रोकरका लागि लाइसेन्स खुल्दै छ भनेर भारतबाट आफन्तको फोन आयो । आफन्तले जानकारी दिएपछि मैले सेयर ब्रोकरको रुपमा काम गर्नका लागि निवेदन दिएको थिए । ०५२ सालमा ब्रोकरको लाइसेन्स पाएको हो । हालसम्म सेयर बजारमा काम गरिरहेको छु ।

ब्रोकर व्यवसाय र उद्योग दुबै सञ्चालनमा छन् । यी दुई मध्ये सबैभन्दा बढी प्रतिफल कुनमा पाउनु भएको छ ?

सेयर बजारबाट बढी फाइदा भएको छ । सुरुमा सेयर बजार नेपालका लागि नयाँ थियो तर उद्योग नयाँ थिएन । हामी दुई ठुला देशका बीचमा छौ । यहाँ उद्योग सञ्चालन गर्न ठुलो चुनौति छ । प्रतिस्पर्धाबाट कमाउन गाह्रो छ । उद्योग आफनो हिसावले सञ्चालन भइरहेको छ । सेयर बजारमा जो पहिला प्रवेश गरेको थियो उसले राम्रो कमाएको छ । २० वर्ष अघिको अवस्था राम्रो थियो तर अहिले छैन । कही वर्षअघिसम्म कुनै कम्पनीको प्राथमिक सेयर (आईपीओ) आउदो आवेदन दिने सबैलाई पथ्र्यो तर अहिले १० कित्ता भन्दा बढी पाइन्दैन् । लगानीकर्ता धेरै आएकाले प्रतिफल भने घटेको छ । बजारमा कमाउने क्षमता कम हुदै आएको छ । लगानीकर्ता धेरै भएपछि कमाई बाँडफाँड भएर कम देखिएको हो । बजारमा कमाउने क्षमता कम भयो । लगानीकर्ता बढेकाले भएको कमाई बाँडियो । सेयर बजारबाट वर्षमा २५ प्रतिशत प्रतिफल पाए धेरै राम्रो हो । यो प्रतिफल पाउने संभावना अझै छ । बैंकको ब्याज भन्दा बढी आम्दानी सेयर बजारबाट जहिले पनि हुन्छ । बैंकमा राखेको भन्दा बढी प्रतिफल पाएको छन् ।

सेयर बजारलाई बढाउन के गर्नुपर्छ ?

विदेशी लगानी नेपालमा आए सेयर बजार झनै राम्रो भएर जाने छ । यसका लागि विदेशी लगानी आवश्यक छ । बजारमा विभिन्न किसिमका पुँजी आवश्यक पर्छ । त्यही पुँजीले बजारलाई गति दिन्छ । अहिले बैंकमा गएर १२ प्रतिशत ब्याजमा कर्जा पाइन्छ । मैले लिदा पनि त्यही हुन्छ । एकै किसिमको लगानीको प्रतिफल एउटै हुन्छ । जस्तै विदेशी लगानी आयो भने १ प्रतिशत ब्याज दरमा लगानी ल्याएको हुन्छ । २ प्रतिशत ब्याज ल्याउदा प्रतिफल २५ हुदा २३ प्रतिशत सिधै पाउने हुन्छ । यसले बजार बढाउछ । अर्को कुरा बजार जहिले पनि तलमाथि भइरहन्छ । यसमा लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्छ । लगानीकर्ताको मनोविज्ञानलाई देशको राजनीतिक घटना, बजारको अवस्था र अन्तराष्ट्रिय घटनाले लगानीकर्ताको मनोविज्ञानमा सिधा असर गर्दा बजार बढ्छ कित घट्छ । यसको प्राकृतिक गुण हो ।

बजारका लगानीकर्ताले सेयरबाट कतिको कमाएका छन ?

केही वर्षयता लगानीकर्तालाई कमाउन गाह्रो भएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले बजारलाई अस्थिर बनाएको छ । बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने योजना आउदा सेयर बजार बढ्ने गरेको छ । पुँजी वृद्धिको योजना सकिएपछि बजार पुनः घट्ने गरेको दुई दशकको घटनाक्रमले देखाउछ । सुचक ५ सय पुगेर १ सयसम्म आएका थियो भने १ हजार १७५ अंकमा पुगेर २८० मा झरेको थियो । गत वर्ष १ हजार ८८१ अंकमा पुगेर हाल १ हजार २ सय पुगेको हो । अहिले १ हजार ५ सयको हारहारीमा छ । यस्तो हुनुको मुल कारण मौद्रिक नीति नै हो । नेपालको सेयर बजारमा एक नासका लगानीकर्ता मात्र भए बजार बढाउन विभिन्न किसिमका लगानीकर्ता आएनन् । एक किसिमको पुँजीले गर्दा बजार एकनासले चलेको हो ।

सरकारले गैरआवासिय नेपालीलाई पुँजीबजारमा ल्याउने भनेको छ । गैरआवासिय नेपालीको लगानी आएपछि बजारको अवस्था कस्तो हुने देख्नुहुन्छ ?

सबै लगानी आउनु सेयर बजारका लागि राम्रो हो । भारतमा पनि १९९० सम्म त्यहाँ बजारको अवस्था राम्रो थिएन् तर पुँजीबजारमा विदेशी लगानी खुला गरेपछि बजार परिसुचक ३३ हजार पुगिसक्यो । विदेशी लगानी र गैरआवासियको लगानी खुल्यो भने बजार धेरै माथि जान्छ । सकेसम्म सार्क मुलुकको लगानी खुला गरे बजार धेरै माथि जाने संभावना छ । हाम्रो सालभरीको कारोबार विदेशमा ३ घण्टाको हो । हाम्रो बजारको मूल्य धेरै कम छ । भारतमा १० रुपैयाँको सेयरको मूल्य ५ हजार बढी पनि छ । भारतमा विदेशी पुँजी र बैंकको ब्याजदरबीचको ग्यापका कारण बजार माथि गएको हो ।

पुँजीबजार १ हजार ८८१ माथि जान सकेन र घटदै गएको छ, यो हुनुको मुल कारण के हो ?

यसको मुल कारण मौद्रिक नीति नै हो । बैंकहरुको पुँजी वृद्धिको काम सकियो । सबैले ८ सय करोड रुपैयाँ पुर्याउनु थियो त्यो पुरा भइसकेको छ । अब बजारमा बीमा कम्पनीको बाँकी छ । पुँजी वृद्धि योजनाले बैंक तथा वित्तीय संस्थाको संख्या सोचेअनुसार नघटेपछि फेरी पुँजी वृद्धिको योजना आउने बजारमा हल्ला छ । बैंकको संख्या १० मा झर्ने योजना छ । पुँजी बढाउने योजना आयो भने सेयर बजार फेरी बढ्ने संभावना छ । अहिले बोनसले बजार बढाउन सकेको छैन् ।

कम्पनीले धमाधम लाभांश घोषणा गरेको बेला बजार घटेको छ, यसको कारण के हो ?

पुँजी वृद्धिको योजना भएका बेला बोनसको आर्कषण थियो र बजार बढेको हो । पुँजी बढाउने यो अन्तिम वर्ष भएकाले लगानीकर्ताको मनमा नगद लाभाँश मात्र पाउने होकी भन्ने चिन्ता पनि छ । नगदमा धेरै प्रतिफल आउदैन । लगानीकर्ताको आकर्षण बोनस सेयरमा छ ।

बैंकले मार्जिन कर्जा लिन बोलाउदा पनि बजार बढ्न सकेन नी, महंगो ब्याज दर भएर हो ?

अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छ । बजार दरमा ४ प्रतिशतको प्रतिफल मात्र आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ । अब बजार धेरै घट्ने संभावना छैन् । १५ प्रतिशत माथि र तल हुन्छ । पुँजीवृद्धिको योजना र अनलाईन ट्रेडिङ आएपछि बजार बढ्छ । अनलाइन सेयर बजारको हर्ट(मुटु) हो ।

नेपालको पुँजीबजारमा बैंक तथा वित्तीय संस्था, बीमाको मात्र बढी हिस्सा छ, सिमेन्ट, डण्डीलगायत अन्य उत्पादनमुलक क्षेत्रको प्रवेश किन नभएको हो ?

उद्योगको पारदर्शीताको समस्याले होला जस्तो लाग्छ । उद्योग खोल्दा मेहनत र समय लाग्छ । धरै मेहनत र समय लागेपछि त्यसको मूल्य त हुनुपर्छ । त्यो मूल्य प्रणाली नेपालमा छैन् । भारतमा बढी छ र त्यहाँ धेरै उद्योग पब्लिकमा गएका छन् । भारतमा कुनै उद्योगको सेयरको फेसभ्यालु १० रुपैयाँ छ भने उसले १ सय रुपैयाँको प्रिमियम दरमा सेयर निष्कासन गर्न पाउने व्यवस्था छ । दूई दशक बढी लगाएर बनाएको उद्योग १ सय रुपैयाँ फेसभ्यालुमा आउने संभावना छैन् ।

अहिले फेसभ्यालुको ५ गुणासम्म सेयर जारी गर्न पाउने व्यवस्था छ । ३ वटा सिमेन्ट उद्योग पुँजी बजारमा आउदैछन् । आगामी दिनमा जलविद्युत, सिमेन्ट, डण्डी र चाउचाउ जस्ता वास्तविक क्षेत्रको आईपीओ आउने संभावना देखिएको छ । आगामी दिन बजार वास्तविक क्षेत्रकै हुने छ । बैंकको पुँजीवृद्धिपछि सुनौला दिन गइसकेका छन् । बजारमा यस्ता लगानीकर्ता पनि हुन्छन जसले बजारको भविष्य हेरेर लगानी गरेका हुन्छन् । बैंकको सेयर मूल्य बढेको बेला बेचेर बाहिरिसकेका छन् । उनीहरुले बोनस आउछ भनेर पर्खिन्दैनन् ।

बजारको हटकेक कुन क्षेत्र हो ?

१५ प्रतिशत प्रतिफलका लागि सबै अहिले सबै क्षेत्र हटकेक हुन् ।

यहाँ लामो समय यही क्षेत्रमा बिताउनु भएको छ, यहाँसंग यस विषयमा धेरै अनुभव पनि छ । लगानीकर्तालाई यहाँ के सुझाव दिनुहुन्छ ?

सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने हो । अहिले नै बजारमा लगानी सुरु गर्नुपर्छ । २५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ । एकैपटक लगानी गर्नुहुदैन् । इन्डेक्सअनुसार बजार नघटेपनि स्क्रप्टवाइज बजार घटिसक्यो । सेयर किन्ने उपर्युक्त मौका हो तर एकैपटक हाल्ने हैन् ।

बजार मूल्य पनि राम्रो छ । आगामी दिनमा धेरै आर्कषण छैन् । आर्कषण पनि हुन सक्छ । यसरी पोर्टफोलियो बनायो भने घाटा हुदैन् । यो बेला लगानी गरेको आधा अंश फिक्समा लगाउनुस र आधाको ट्रेडिङ गर्नुपर्छ । मानौ १० हजारको सेयर किन्नुभयो भने ५ हजारको सेयर राख्नुस र ५ हजारको सेयर बजारमा खेल्नुस । बढेको बेला बेच्ने र घटेको बेला किन्दा नाफा हुन्छ ।

यहाँको लगानी भएको मोदी जलविद्युतका आईपीओ कहिले आउछ ?

पुससम्म हाम्रो तर्फबाट काम सक्ने छौ । त्यसपछि मात्र निष्कासनको अवस्था बारे थाहा हुने छ । पहिला स्थानियबासिन्दालाई निष्कासन गर्ने छौ । ३० प्रतिशत निष्कासन गर्ने योजना छ । आउदो पुसमा आयोजना सम्पन्न हुने छ । त्यसपछि आईपीओमा जाने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.