राजनीतिक दललाई व्यवसायीको सुझाव: चुनावी घोषणापत्रमा पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने

  २०७४ कार्तिक १३ गते १७:५३     विकासन्युज

काठमाडौं । होटल संघ नेपाल (हान)ले प्रमुख राजनीतिक दलहरुलाई आसन्न चुनावका लागि तयार पारिने घोषणापत्रमा पर्यटनलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

संघका अध्यक्ष अमरमान शाक्यले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकताका साथ उल्लेख गर्न आग्रह गरेका छन् । आसन्न चुनावहरुका लागि तयार पारिने घोषणापत्रमा समेत अर्थतन्त्रको दिगो बिकासको माध्यम पर्यटन उद्योग रहेकोले पर्यटन व्यवसायलाई विशेष प्राथमिकता सहित उल्लेख गराउने उद्येश्य रहेको उनले बताए ।

नेपालको इतिहासमा पहिलोपटक सम्पन्न हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको पूर्व सन्ध्यामा “दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको बिकास“ भन्ने नारालाई आत्मसात गर्ने गरि नेपालका सात वटै प्रदेशमा पर्यटन र होटल उद्योगको विकासका लागि तीन मुख्य राजनीतिक दलहरुको सामुहिक प्रतिबद्दता जनाउन आग्रह गरेका थिए ।

होटल संघ नेपाल (हान) को पहलमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ, र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्टबाट संयुक्त रुपमा सोमबार एक  छलफल कार्यक्रम आयोजना गरेको थियो ।
सरकारले पूर्वाधार विकास गरेको खण्डमा होटल तथा पर्यटन व्यवासायीले सात वटै प्रदेशमा लगानी गर्ने बताएको छ ।

सोमबार हानले एक कार्यक्रममार्फत सरकारले नेपालको आर्थिक विकासका लागि उचित नीति अख्तियार गर्ने र विमानस्थल, बाटो, उर्जा जस्ता अत्यावश्यक पुर्वाधारहरुमा लगानी गरेको खण्डमा सात वटै प्रदेशमा होटल तथा पर्यटन व्यवसायीहरु लगानी गर्न तयार रहेको बताएको छ ।

सबै प्रदेशहरुले आआफ्नो विशिष्टता झल्कने पर्यटकीय ब्राण्ड तयार गर्न, प्रदेश र स्थानीय सरकारले पर्यटक र पर्यटन व्यवसायीसंग सन्तुलित ढ्रगले मात्र शुल्क लगाउन, पर्यटन र होटल उद्योग सेवामुखी भएकाले संतुलित श्रम संबन्ध निर्माण गर्ने वातावरण तयार गर्न र द्रुतरुपमा आर्थिक विकास भएका छिमेकी मुलुकहरु चीन र भारतबाट बढी भन्दा बढी पर्यटक भित्र्याउनका लागि सरकारी स्तरमा पहल गर्नका लागि पनि राजनितीक नेतृत्वलाई अनुरोध गरेका छन् ।

होटल संघ नेपाल स्थापनाको स्वर्ण महोत्सवको अवसरमा पनि नेपालको संघिय संरचनामा पर्यटनको  विकास र प्रवर्धन कसरी गर्ने विषयमा बृहत छलफल गरि यस विषयको उठान गरिसकेको स्मरण गराउंदै का तीन मुख्य राजनीतिक दलहरुका जिम्मेवार नेताहरुको समुस्थितिमा उक्त विषयलाई अझ गहन र व्यापकरुपमा अगाडी बढाएर नेपालका सात वटै प्रदेशका लागि भावी पर्यटनको दुरदृष्टि र मार्गचित्र कोर्ने जमर्काे गरेको बताए ।

दलका प्रतिबद्धता

उक्त कार्यक्रममा माओबादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोख्रेलले पर्यटन व्यवसाय साँच्चै नै दिगो आर्थिक विकासको आधार ह’न सक्ने बताउँदै होटल तथा पर्यटन व्यवसायीहरुको चासोमा आफ्नो पार्टिको ऐक्यबद्धता जनाए भने पुर्व परराष्ट्र र उर्जा मन्त्रि तथा नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले पर्यटन विकासको विषय नेपाली काँग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रका अर्का वक्ता एमाले पर्यटन विभागका प्रमुख सुर्य थापाले पनि पार्टिले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकताका साथ निश्चित लक्ष्य तोकेरै राखिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.