हिमालय एयरलाइन्स ‘एशियाकै प्रभावशाली’ वायु सेवा कम्पनी, १५ विमान थप्ने तयारी

  २०७४ कार्तिक १२ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स दक्षिण एशियाकै प्रभावशाली नयाँ अन्तराष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेशियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो ।

उक्त समारोहमा गान अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक इब्तिशामा अह्मद साइदले स्वर्ण श्रेणी अन्तरगत ब्राण्ड एण्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्ज्वल डालीलाई सम्मान गरेका थिए । यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको एयरलाइन्सले बताएको छ । साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो ।

गत अगष्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले भनिन्, ‘यो अवार्ड प्राप्त गर्न पाउँदा हामी एकदमै गर्वान्वित भएका छौं । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन उर्जा प्रदान गरेको छ । हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’

सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र ब्यांकक् मा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजीङ र छेङडुलाई पनि अन्य शहरहरुसँग जोड्ने योजना बनाएको छ ।

हाल तीवटा एयरबस रहेको यो एयरलाइन्सले आगामी दिनमा १५ विमान थप्ने योजना तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.