ठूला व्यवसायी किन उद्योग बन्द गरेर सेयर बजारमा लगानी गर्छन ? कसरी हुन्छ सेयरमा फाइदा ?

  २०७४ कार्तिक ५ गते ११:३४     छोटेलाल रौनियार

म पुँजी बजारमा प्रवेश गरेको छ वर्ष भयो । यसअघि ३५ वर्षसम्म गार्मेन्ट व्यवसाय गरेँ । मेरो उद्योगमा ४०० देखि ६०० कामदार हुन्थे ।

अरु धेरै गार्मेन्ट उद्योग बन्द हुँदा पनि मैले गर्मेन्ट उद्योग चलाईरहेको थिएँ । जब नेकपा माओवादी फुटेर प्रचण्ड पक्षधर र बैद्य पक्षधर माओवादी भए, तब ट्रेड यूनियनमा पनि विभाजन आयो । उनीहरुबीचको द्वन्द्वले उद्योग भित्र कामदारहरु आन्दोलित भए ।

निर्यातमुलक उद्योग भनेको कस्तो हो भने विदेशी खरिदकर्ताले १५ तारिकमा समान पाउने गरी अडर गरेको छ भने १५ तारिक भित्रै सामान पाउनुपर्छ । १५ गतेभित्र सामान पायो भने डलरमा भुक्तानी गर्छ । १६ तारिक सामान पुग्यो भने भुक्तानी दिन्न भनेर कागज आउँछ । सम्पूर्ण लगानी ढुब्छ ।

उद्योगभित्र ट्रेड यूनियनबीच द्वन्द्वले लाखौ डलरको सिपमेन्टहरु रद्द भए । उद्योग गम्भिर आर्थिक संकटमा पर्यो । मैले बाध्य भएर उद्योग बन्द गर्ने निर्णय गरेँ । साथीहरुसँग सापटी लिएर सबै कर्मचारीलाई दिनु पर्ने भुक्तानी दिएँ । पछि आफ्नो जग्गा जमिन बेचेर साथीहरुको पैसा फिर्ता दिएँ ।

उद्योग बन्द हुनुपूर्व म नेपाल उद्योग महासंघको रोजगारदाता परिषद्मा पनि थिएँ । उद्योग र रोजगारदाता सम्बन्धि सरकारले गठन गरेको विभिन्न समितिमा म थिएँ । ठूलो उद्योग चलाएको सफल व्यवसायी, अनुभवी व्यवसायी भएकोले पनि होला, समग्र उद्योग क्षेत्रको विकासमा साझा हितका कुरा प्रष्टसँग गर्ने भएकोले पनि होला, सामूहिक हितमा काम गर्ने फोरमहरुमा मलाई जिम्मेवारी दिइन्थ्यो । उद्योग व्यापारको क्षेत्रमा मेरो छुट्टै पहिचाहन थियो ।

मैले गार्मेन्ट उद्योग चलाएको ३५ वर्ष भएको थियो । विवाहसँगै मेरी श्रीमतीले पनि उद्योग चलाउन सघाउन थालिन् । उनले पनि २८ वर्ष सोही उद्योगमा काम गरिन् । हामी दुबै जनाल दैनिक १२ देखि १६ घण्टासम्म उद्योगमा काम गथ्र्यौ । जब उद्योग बन्द भयो, हामी खाली भयौ, कामविहिन भयौ ।

काम गर्न नपाउँदा धेरै छलपटी भयो । त्यतिबेला ठूली छोरी लण्डनमा थिइन् । हामी दुबै जना लण्डन गएर बस्यौ । त्यहाँ पनि मलाई छटपटी भयो । काम छैन, के गर्ने ?
नेपालको ठूलो निर्यातकर्ता सबैसँग मेरो राम्रो सम्बन्ध थियो । लण्डनमा नै बसेर नेपाली सामानको व्यापार गर्ने योजना बनाएँ । नेपाल आएर पुराना साथीसँग भने–‘म पनि नेपाल छोड्ने भएँ, लण्डनमा व्यापार गर्न तयारीमा छु ।’

धेरै साथीहरु निरास हुनुभयो । एक जना साथीले सोधे–‘तिमी जन्मेको कहाँ ? हुर्केको कहाँ ? कर्मभूमी कहाँ ?’

मैले भने–‘यही हो, नेपाल ।’

उनले भने–‘तिमी नेपालमा नै जन्मियौ, नेपालमा नै पढ्यौ, नेपालमा नै जिन्दगीभर व्यवसाय गर्यौ । सबै साथी सर्कल यहि छन् । यो उमेरमा, मर्ने बेलामा किन लण्डन जान्छौ ?’

म झसङ्ग भएँ । त्यो साथीलाई धन्यवाद दिए । ‘यो उमेरमा मलाई गलत काम गर्नबाट रोक्यौ, म विदेश जान्न’–मैले भने ।

म नेपालमै बस्छु र नेपालमा नै मर्छु भन्ने अठौट लिएँ, विदेश नजाने भएँ ।

तर नेपालमा के गर्ने ?

मेरो अगाडि चुनौतिको पहाड थियो । मसँग पुँजी थिएन । भएको कम्पनी बन्द । ठूलो उद्योग चलाईसकेको व्यक्ति, सानो पसल खोल्ने कुरा पनि भएन । फ्याक्ट्री बन्द गर्नुपर्ला भनेर मैले कुनै दिन सोचेको पनि थिइन ।

श्रीमती ठूली छोरीसँग लण्डनमा नै थिइन् । सानी छोरी र म काठमाडौंमा । काम केही छैन । घरमै बस्यो, खायो, टिभी हेर्यो । मलाई डिप्रेशन भयो । यूरिक एशिड बढेछ ।
यूरिक एसिड कम गर्न कम्तिमा हिडडूल गर्नुपर्यो भनेर वाकिङ गर्न थाले । स्वास्थ्यलाई पनि फाइदा हुन्छ, समय बिताउन पनि सजिलो हुन्छ, साथीहरुसँग भेटेर गफ गर्दा डिप्रेशन पनि कम हुने । हरेक दिन ताहाचलदेखि मखन, इन्द्रचोकसम्म जान थालेँ ।

दैनिकी वाकिङमा बित्दै थियो । एक दिन रञ्जना गल्लीमा हिड्दै थिए । साथी सालिकराम अधिकारीलाई त्यहाँ भेटेँ । त्यही २० नम्बरको ब्रोकर छ ‘सिप्ला’ । पवन अग्रवाल, सालिकराम अधिकारी मेरा पुराना साथीले चलाएको ब्रोकर कम्पनी हो त्यो ।

त्यसदिन अघिसम्म म त्यो कम्पनीमा छिरोको पनि थिइन । केही कम्पनीको साधारण सेयर (आईपीओ) लिएको थिए तर ब्रोकर कम्पनीमा गएर सेयर किनबेच गरेको थिइन ।

करिव ६ वर्षअघिको कुरा हो म पहिलो पटक ब्रोकर कम्पनीमा छिरेँ । लगानीकर्ताहरु न्याउरो मुख लगाईरहेको देखेँ। त्यतिबेला नेप्से परिसूचक ११७५ अंकबाट घटेर ३२० मा झरेको रहेछ । बैंकहरुले मार्जिन कल गरिरहेको, कति लगानीकर्ता मोवाईलको स्वीच अफ गरेर बसिरहेको, बजार दिन दिनै घटिरहेको, सेयर प्रमाणपत्र भनेको कागजको खोस्टो मात्र रहेछ भन्ने लगानीकर्तालाई परिसकेको रहेछ । जे रेट पायो त्यहि रेटमा बेच्ने मनस्थितिमा लगानीकर्ता रहेछन् । माओवादीको सरकार थियो ।

ब्रोकर अफिसमा मनिटरको स्कीनमा सेयर बजार मैले हेरेँ । एनएमबी भनेको के हो ? एसबीआई भनेको के हो ? इवीएल भनेको के हो ? मलाई केही थाहा थिएन ।
मैले केही बुझिन । सेयर किन्ने आँट पनि भएन । वास्तवमा भन्नुपर्दा सेयर किन्नको लागि पैसा पनि थिएन ।

पछि बुझ्दै गए । मलाई सेयर बजारमा लगानी गर्न मन लाग्यो । ५÷६ सय कर्मचारी राखेर उद्योग चलाएको र ट्रेड यूनियन आन्दोलन कै करण उद्योग बन्द गर्नु परेकोले धेरै कर्मचारी राख्नु पर्ने उद्योग लगाउँदै लगाउँदिन भन्ने मनमा थियो । दोस्रो, सेयर बजारमा जति लगानी गरेपनि आफ्नै अध्ययन, आफ्नै क्षमता, आफ्नै निर्णयको आधारमा काम गर्न सकिने भएकोले मलाई सेयरमा लगानी उपयुक्त लाग्यो ।

मैले अलिकति बैंकबाट कर्जा लिए । पहिलो पटक सिद्धार्थ बैंकको सेयर किने प्रतिकित्ता २५० रुपैयाँमा ।

पछि मूल्य घट्र २३० भयो । प्रतिकित्ता २० रुपैयाँ घट्दा मलाई २०० रुपैयाँ मूल्य घटेको जस्तो महसुश भयो ।

त्यसपछि पुँजी बजारको बारेमा थप अध्ययन गर्न थालेँ । मेरो निष्कर्ष के भयो भने यतिबेला सेयर बजारमा लगानी गर्न उपयुक्त समय हो ।

मैले आफ्नो घर धितो राखेर बैंकबाट थप कर्जा लिएर लगानी गरेँ ।

सेयरमा लगानी गर्न थालेको ७ महिना भएको थियो । मेरी श्रीमती लण्डनबाट फर्केर काठमाडौं आइन् । उनी आएकै दिन दुबै जना टिभी हेर्दै थियौं । सेयर बजार धराशाही भएको समाचार टेलिभिजनमा आयो ।

उनलाई मेरो भतिजले फोनबाट भनेको रहेछ कि मैले सेयर बजारमा लागेको छु । सेयर बजार धरासाही भएको बेलामा किन सेयरमा लगानी गरेको भनेर उनी मसँग रिसाईन् । मलाई भतिज र साथीहरुले पनि गलत समयमा सेयरमा लगानी गरेको भनेर गाली गरेका थिए । त्यतिबेला मैले करिब ३५ लाख रुपैयाँ घाटा खाईसकेको थिए । घर र फ्याक्ट्री वाहेक मेरो सम्पत्ति केही थिएन । फ्याक्ट्र बन्द भयो । घर पनि बन्दकी राखेर कर्जा लिएर लगानी गरेको थिए ।

‘हामी अब सडकमा पुग्ने भयौ’ भनेर उनी चिन्तित भईन ।

मैले भने ‘हेरा गायत्री, गार्मेन्ट फ्याक्टी चलाएर हामीले देशभर आफूलाई चिनाएका थियौं । यो उद्योगमा मैले ३५ वर्ष बिताए । तिमीले पनि २८ वर्षसम्म साथ थियो । तिम्रो मिहेनत र सहयोगप्रति म आभारी छु । आज हामीसँग उद्योग छैन तर हाम्रो इज्जत छ । उद्योग बन्द गर्दा पनि सबै कर्मचारीलाई खुशी बनाएर विदा गर्यो । कसैको कुभलो गरेको छैनौं । मेरो लाइफको पहिलो इन्डिङ गार्मेन्ट उद्योगमा भयो । अब म पुँजी बजारमा लागेँ । २/३ वर्षमा पुँजीबजारबाट मैले आम्दानी पनि गर्ने छु, यहि क्षेत्रमा नाम पनि कमाउने छु । नराम्रो तरिकाबाट होइन, राम्रो तरिकाबाट ।’

पुँजी बजारबारे अध्ययन गर्दै गएँ । लगानी बढाउँदै गएँ । पुँजीबजार बारे अहिले जस्तो प्राविधिक विश्लेषण, सेयर बजारबारे राम्रो विश्लेषण प्रकाशन हुने थिएन । नेप्से किन ११९५ पुग्यो, फेरी किन २९३ मा झर्यो ? स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सेयर मूल्य किन ९ हजार पुग्यो र ९ सय रुपैयाँमा झर्यो ? नविलको सेयर किन ६ हजार ६०० पुग्यो र ६०० रुपैयाँमा भर्यो ? त्यतिबेला सबै नेपालीले हचुवाको भरमा लगानी गरेका रहेछन् । इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको सेयर मूल्य २००० बाट झरेर ५६ रुपैयाँमा पुगेको थियो । धेरै कम्पनीको सेयर १०० रुपैयाँ भन्दा कम भयो । मैले के निष्कर्ष निकाले भने नेप्से ५०० भन्दा तल आउनु भनेको सेयरको मूल्य न्यूनतम भन्दा पनि कम हो ।
मैले त्यतिबेलाको राम्रो २८ वटा कम्पनीको वित्तीय अवस्थाबारे अध्ययन गरेँ । त्यसमा राम्रा १० कम्पनीहरुमा सेयरमा लगानी थपेँ । सेयरकर्जाको व्याज पनि १४/१५ प्रतिशतबाट झरेर ७/८ प्रतिशतमा आयो । त्यतिबेला मेरो लगानीको बुक भ्यालु ४० लाख भन्दा बढी नाफामा देखिएको थियो । मैले सम्भव भएसम्म बैंकबाट कर्जा लिएर लगानी विस्तार गरेँ ।

अहिलेसम्म मैले सेयर बेचेको छैन । किनकी आगामी वर्षहरुमा सेयर बजारको विकास धेरै राम्रोसँग हुँदैछ । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड लगायत नियामक निकायले सुधारका नीतिहरु लिएका छन् । यसको लाभ लगानीकर्ताले नै पाउने हो ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.