वर्षकै उच्च माग हुने दिन पनि विजुली आपूर्ति नियमित, एक दशकदेखिको लोडसेडिङ अन्त्य

  २०७४ कार्तिक ३ गते ७:५२     विकासन्युज

काठमाडौं । वर्षकै सबैभन्दा बढी विजुली माग हुने लक्ष्मी पूजाको दिने १४९९ मेगावाट खपत भएको छ । यस वर्षको लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विजुलीको माग ६ बजेर ३५ मिनेटमा भएको थियो ।

उक्त समयमा १४९९ मेगावाट विजुली खपत भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । लक्ष्मी पूजाको दिन अधिक विजुलीको खपत ६ बजेदेखि ६ः३५ बजेसम्म भएको थियो ।

गत वर्ष लक्ष्मी पूजाको दिन बढीमा १४४४ मेगावटा विजुली खपत भएको थियो । वर्षेनी १०० मेगावाट विजुलीको माग बढ्ने गरेको र यस वर्ष १५५० मेगावाट विजुली माग हुने अनुमान सहित प्राधिकरणले लक्ष्मी पूजाको दिन लोडसेडिङ हुन नदिन विशेष तयारी गरेको थियो ।

अधिक माग हुने समयमा प्राधिकरणले उद्योगहरु बन्द गर्न र ठूला होटलहरुलाई डिजेल जेनेरेटर चलाउन आग्रह गरेको थियो । ‘उद्योगभित्र पनि बत्ती बालेर पूजा गर्न विजुल िआपूर्ति नियमित गरेका थियौं, पूजाको समयमा उद्योग नचलाउन भनिएको थियौ । राजधानीको ठूला होटललाई जेनेरेटर चलाउन आग्रह गर्यौ । सबैको सहयोग पनि भयो’ अधिकारीले भने–‘गत वर्ष लक्ष्मी पूजाको दिन काठमाडौंमा मात्र लोडसेडिङ भएको थिएन, यस पटक देशभर नै हामी देशभर नै लोडसेडिङ हटाउन सफल भयौं ।’

पूरा क्षमता प्रयोग भएन

लक्ष्मी पूजाको दिन भारतबाट ४१५ मेगावाट विजुली आयात गर्ने योजना थियो । तर माग कम भएपछि प्राधिकरणले भारतबाट ३५५ मेगावाट मात्र आयात गरेको अधिकारीले बताए । त्यस्तै कुलेखानी जलविद्युत आयोजनाबाट ९्२ मेगावाट विजुली उत्पादन गर्ने योजना बनाएकोमा ५६ मेगावाट मात्र उत्पादन गरिएको थियो ।

लक्ष्मी पूजाको दिन लोडसेडिङ हुनु नदिन प्रतिवद्ध प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङसहितमा उच्च व्यवस्थापकहरु राती ११ बजेसम्म फिल्डमा खटिएका थिए । सम्भावित प्राविधिक गडबढीलाई तत्काल समाधान गर्न प्राधिकरणका सबै प्राविधिकहरु आ–आफ्नो क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको थियो ।

एक दशकसम्म दैनिक १२ देखि १८ घण्टासम्म लोडसेडिङको पीडा भोगेका नेपालीहरुको लागि लोडसेडिङ नहुनु भनेको ठूलो समस्याबाट उन्मुक्ति पाउनु हो, अध्यारो हटेर उज्यालो फैलनु हो । तिहारमा लोडसेडिङ नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने संकेतको रुपमा हेरिएको छ । लोडसेडिङ नहुँदा आर्थिक वृद्धिमा समेत उल्लेख्य योगदान मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.