लक्ष्मी पूजामा देशभर झिलिमिलि, लोडसेडिङ नभएको प्राधिकरणको भनाई

  २०७४ कार्तिक २ गते १८:०२     विकासन्युज

काठमाडौं । आज लक्ष्मी पूजाको दिन । साँझ देशभरी झिलिमिलि बत्ती बालिन्छ र खुशीयाली मनाईन्छ ।

लक्ष्मी पूजाको समयमा झिलिमिलि उज्यालो बाँढ्न र नेपालीहरुको खुशीयालीमा साथ दिन नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु खटिरहेका छन् । वर्षकै सबैभन्दा बढी बिजुली माग हुने तिहारमा लोडसेडिङ हुन नहुनुलाई वर्षभरी नै लोडसेडिङ नहुने शुभ संकेतको रुपमा पनि लिइन्छ ।

प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठका अनुसार आज लक्ष्मीपूजाको दिन बिजुलीको माग बढेर १ हजार ५५० मेगावाट पुग्ने अनुमान गरिएको छ । भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति भईरहेको छ ।

उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेर देशभर सर्बसाधारणको घरमा विजुली आपूर्ति गर्ने विधि प्राधिकरणले अपनाएको छ । साँझमा उद्योगको ३ सय मेगावाट बिजुली काटेर सर्वसाधारणको घरमा विजुली पठाइएको प्राधिकरणले जनाएको छ ।
भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पूर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ । यस्तै तिहार भर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफ्युल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।

गत वर्ष लक्ष्मीपुजाको दिन बिजुलीको माग १ हजार ४४४ मेगावाट थियो । गत वर्ष काठमाडौं उपत्यकामा मात्रै लोडसेडिङ मुक्त भएको थियो । यस वर्षभने देशभर नै लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ ।

‘प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित उच्च तहका प्राविधिकहरु लक्ष्मी पूजाको दिन विद्युत आपूर्ति नियमित गर्ने उदेश्यका साथ फिल्डमा खटिनु भएको छ, प्राविधिक समस्या आएका ठाउँमा बाहेक अन्त लोडसेडिङ हुँदैन’ श्रेष्ठले विकासन्युजसँग भने । आज भक्तपुर जिल्लामा भने प्राविधिक गडबढीका कारण ठाउँगाउँमा विद्युत आपूर्ति हुन नसकेको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.