उपभोक्ता रुवाउने प्याजको भाउ दुई सातामा ४७ प्रतिशतले महंगियो, हरियो तरकारी पनि छोइनसक्नु

  २०७४ कार्तिक १ गते १५:००     भूमिका तिमल्सिना

काठमाडौं । भान्सामा सबैभन्दा बढी उपभोग हुने प्याजको भाउ बढेको छ । भारतबाट पर्याप्त मात्रामा प्याज नआएपछि यसको मूल्य ४७ प्रतिशतले बढेको हो ।

समितिका अनुसार अहिले बजारमा प्याज प्रति किलो ५९ रुपैयाँमा किनबेच भइरहेको छ । दुई साताअघि यसको भाउ प्रति किलो ४१ रुपैयाँ थियो ।प्याजमा नेपाल भारतमै निर्भर रहेकाले यसको मूल्यलाई आन्तरिक उत्पादनले प्रभाव नपार्ने डंगोलले बताए ।

उनले भने, ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । अहिले भारतबाट प्याज निकै कम मात्रामा आइरहेको छ । व्यापारीले कोल्ड स्टोरमा भएका प्याजलाई बिक्री गरिरहेका छन् ।

उपत्यका भित्रिने तरकारी मध्ये ५० प्रतिशत भारतबाट आयात हुने गरेको समितिले जानकारी दिएको छ । बजारमा पाइने तरकारीको आधा मात्र नेपालमा उत्पादन हुने गरेको डंगोलले बताए । आलु, प्याज तथा परवरमा नेपाल भारतमै निर्भर रहेको उनले बताए ।

कालिमाटी आउने तरकारीहरु उपत्यकाको छिमेकी जिल्ला धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्दुली तथा तराईका जिल्लामा उत्पादन हुन्छन् ।

हरियो तरकारी पनि महंगियो

तिहार नजिकीदै गर्दा अन्य हरियो तरकारीको भाउ पनि आकाशिएको छ । चाडपर्वमा तरकारीको खपत बढ्ने भएकाले तरकारीको भाउ बढेको हो ।दुई सातामा तरकारीको भाउ १६३ प्रतिशतसम्मले बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

चाडपर्वमा उपभोक्ताको माग बढ्ने र आपुर्ति कम हुनेभएकाले तरकारीको भाउ बढ्दै गएको समितिका योजना अधिकृत रमेश डंगोलले बताए । उनले भने, ‘चाडपर्वमा तरकारीको उपभोग उल्लेखनिय रुपमा बढ्छ । आपूर्तिभन्दा तरकारीको मागबढेकाले तरकारीको भाउ बढ्न गएको हो ।‘कालिमाटीमा दैनिक ७०० टन बराबर तरकारी आयात भइरहेको उनले जानकारी दिए ।

चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारी

चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारीले तोकिएको भन्दा बढी मूल्य लिन भएकाले तरकारी भाउ महंगीने गरेको छ । चाडपर्वमा तरकारीको माग बढ्ने भएकाले खुद्रा व्यापारीले यसको फाइदा उठाउने गरेका छन् । थोक बजारमा पाइने तरकारीलाई उपभोक्ताले खुद्रा ४० देखि ६० प्रतिशतभन्दा बढी मूल्य तिर्दै आएको डंगोलले बताए ।

कुनमा कति बढ्यो ?

अहिलेका सिजनका तरकारी काउली, बन्दा, मटरकोसा लगायतका रहेका छन् । कागतीको मुल्य िकलाेकाे ६ सय रुपैयाँ भन्दा माथि पुगेको छ भने कुरिलोको मुल्य ४ सय भन्दा माथि तथा गुन्द्रुको मुल्य २ सय रुपैयाँबाट नाघेको छ त्यसैगरी, काउली सिजनको तरकारी भएर पनि दुई हप्ताको तुलना गर्दा स्थानीय काउलीको थोक मुल्य ५० प्रतिशतले वृद्धि भएको छ । प्रतिकिलो ५२ रुपैयाँ थियो भने अहिले ७८ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।

सेतो मुलाको थोक मुल्य प्रति किलो २२ रुपैयाँ थियो अहिले ३३ रुपैयाँ भएको छ । दुई हप्ताको तुलनात्मक तथ्यांक हेर्दा यसमा ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ठुलो गोल्भेडाको भाउ प्रति किलो ४७ रुपैयाँबाट बढेर ६२ रुपैयाँ पुगेको छ । यसमा ३१.९१ प्रतिशतले वृद्धि भएको छ । सानो गोल्भेडाको भाउ २२ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । यसमा १६३.६४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

प्याजको भाउ बढेर प्रतिकीलो ४१ रुपैयाँबाट ५९ रुपैयाँ पुगेको छ । यो ४३.९० प्रशितले बढेको छ । रातो आलुको भाउ भने स्थिर अवस्थामा प्रति किलो ३९ रुपैयाँ रहेको छ भने सेतो आलुको भाउ घटेर २९ रुपैयाँबाट २८ रुपैयाँमा झरेको छ । यो ३.४५ प्रतिशतले सस्तो हुन गएको छ । घिउ सिमी, भन्टा लाम्चो, भटमासकोशा, तितो करेला लगायतका तरकारीमा भाउ बढेको छ ।

अहिलेको सिजनका तरकारीमा स्कुसको भाउ घटेर प्रतिकीलो १३ रुपैयाँबाट ९ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य घटेको छ । च्याउ प्रतिकीलो १४५ रुपैयाँबाट १२५ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य तल झरेको छ । त्यसैगरी, बरेला प्रतिकीलो ७८ रुपैयाँबाट ४८ रुपैयाँ भएको छ । यसमा ३८.४६ प्रतिशतले मुल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.