नेपाल इन्भेष्टमेन्ट र एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता

  २०७४ कार्तिक १ गते १४:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण(रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यी दुई संस्थाबीच बुधबार सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार भारतमा रहेका नेपाली ग्राहकले नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा ‘पृथ्वी रेमिट’ मार्फत भुक्तानी गर्न सक्ने छन् ।

नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन् । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ ।

एक्सेस बैंकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको रेमिट्यान्स सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सक्ने इन्भेष्टमेन्ट बैंकले जनाएको छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने बैंकको विश्वास छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकले देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटीएम मार्फत आफ्नो सेवा दिइरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र भारत स्थित एक्सेस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.