विद्युत प्राधिकरणले भन्यो: तिहारमा बत्ती कम बाल्नुस्

  २०७४ असोज ३० गते १२:५८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा बढी बिजुली खपत हुने उपकरण प्रयोग नगर्न भनेको छ । बढी बिजुली माग हुने साँझको समयमा उच्च भोल्टेजका बत्ति, हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इनडक्सन हिटर, वाटर पम्प जस्ता उपकरण प्रयोग नगर्न अनुरोध गरेको हो । प्राधिकरणले साँझ ५ देखि राती १० बजेसम्म प्रयोग नगर्न प्राधिकरणले सुझाएको छ ।

बढी बिजुली खपत हुने उपकरण प्रयोगमा ल्याउदा वितरण ट्रान्सफरमर, फिडर लाइन ओभरलोड भइ ट्रिप हुने र बिजुली आपूर्ति समेत बन्द हुने भन्दै प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्ने अनुरोध समेत गरेको छ ।

तिहारमा साँझका बेला दीपावली गर्नका लागि बढी बिजुलीको माग हुने र सोही अनुपातमा आपूर्ति गर्न कठिन हुने प्राधिकरणको भनाई छ । भारतबाट थप आयात, कुलेखानी र सबै आयोजना पुर्ण क्षमता सञ्चालन गरेर लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ ।

यस्तै तिहारभर हेटौडामा रहेको १४ मेगावाटको डिजेल प्लाण्ट र बिराटनगरमा रहेको ३९ मेगावाटको मल्टिफयुल प्लाण्ट पनि सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।

भारतबाट आयात र कुलेखानी आयोजना, डिजेल प्लाण्ट र मल्टिफयुल प्लाण्ट सञ्चालन गरेर १ हजार २१५ मेगावाट बिजुली आपूर्ति गर्ने प्राधिकरणको तयारी छ । यस्तै भारतबाट ४१५ मेगावाटसम्म बिजुली आयात हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.