नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने महानगरपालिकाको निर्णय

  २०७४ असोज ३० गते १२:०९     भूमिका तिमल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनलाई वैधानिकता दिने भएको छ । असार ३० देखि ८ गतेसम्म सम्पन्न महानगरपालिका नगरसभाको बैठकले नक्सा पास नगरि बनाइएका, नक्सा पास भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई वैधानिकता दिने निर्णय गरेको हो ।

‘पास गरिएको नक्सा भन्दा धेरै निर्माण भएका घर र नक्सा पास नगरिएका भवनहरुलाई एक पटक स्वीकृतिको अवसर दिने निर्णय भएको छ, कार्यविधि पनि बनिसकेको छ’, काठमाडौं महानगरपालिकाका अधिकृत महेश काफ्लेले भने ।

‘भवन निर्माण इजाजत विपरित निर्माण भएका तथा स्विकृति लिइएको भन्दा विपरित प्रयोजनमा प्रयोग गरिएका भवनहरुको स्थलगत विवरण संकलन गरी जमिनको क्षेत्रफल, भवनको सवलता, सुरक्षा आदि पक्षको विश्लेषण गरि के कुन प्रायोजनमा कुन हदसम्म भवन यथावत कायम राखी उपयोग गर्न सकीने हो प्राविधिक रुपमा यकिन गरी त्यस्ता भवनहरुलाई निश्चित मापदण्डको आधारमा नियमित र प्रमाणिकरण गरिने छ ।’, महानगरपालिका नगरसभा बैठकको निर्णयमा लेखिएको छ ।

नगरसभाको बैठकको निर्णय अनुसार महानगरपालिकाले कार्यबिधी समेत निर्माण गरिसकेको छ । ‘कार्यविधि लेखेका छौँ तर बोर्डले पास गर्नुपर्ने हुन्छ, अहिलेसम्म पास भइसकेको छैन । नक्साको डिजाइन हेरेर वा मापदण्ड मिचेको छ, छैन हेरेर मात्र त्यस्ता भवनलाई वैधानिकता दिने हो ।’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । उनका अनुसार काठमाडौं नगरपालिकामा २५ सयको हाराहारीमा नक्सा पास भएको भन्दा बढी तल्लाका भवनहरु छन् ।

नक्सा पास नगरिएका र पास नगरिएको नक्सा भन्दा बढि संरचना निर्माण गरिएका भवनहरुलाई मापदण्ड पुरा गरेको खण्डमा मात्रै प्रमाणिकरण गरिनेछ । ‘नक्सा पास नगरिएको र बढि संरचना निर्माण गरिएका भवनहरुले भवन निर्माण संहिता पालना गर्न सक्ने अवस्थामा प्रमाणिकरण गरिन्छ’, महानगरपालिकाका प्रवक्ता कार्कीले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.