जनता बैंकले १०१ करोड लाभांश दिँदै छ : केशवबहादुर रायमाझी

  २०७४ असोज २२ गते १३:५१     विकासन्युज

विराटनगरबाट अध्ययन सकेर काठमाडौ आएपछि व्यवसाय सुरु गरेका केशबबहादुर रायमाझी अहिले जनता बैंकको अध्यक्षका अतिरित्त पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक छन् । उनले नेतृत्व गरेको पिपुल्स हाइड्रोले ५० मेगावाटको सुपरदोर्दीखोला आयोजना निर्माण सुरु गरेको छ । आउदा ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी हुदैछ । पिपुल्सले ५७ मेगावाटको अर्को आयोजना पनि निर्माणको योजना बनाएको छ ।

यस्तै रायमाझीले जनता बैंकको अध्यक्ष सम्हालेपछि क्रमिक सुधार हुन थालेको छ । यो वर्ष जनता बैंकले राम्रो वित्तीय प्रगति गर्ने अनुमान गरिएको छ । पहिलाको जस्तो अवस्थामा बैंक नरहने विश्वास उनले दिलाएका छन् । जलविद्युतमा लगानी र बैंकमा भएका सुधारका विषयमा केन्द्रीत रहेर रायमाझीसंग विकास न्युजले गरेको कुराकानीको सारसंक्षेप ।

सुपरदोर्दी आयोजना निर्माण गर्ने अवधारणा कसरी आयो ?

हामीले ०६५ सालतिर लमजुङमा दोर्दीखोला आयोजना हेरेका हौं । उदिपुरदेखि आयोजनास्थलसम्म दुई दिन हिडेर जानु पर्ने थियो । हामीले बिचमा बास बसेर प्राबिधिक टोलीसहित पुगेर अध्ययन गरेका थियौं । पानीको वहाव राम्रो र उचाइ पनि धेरै भएकाले अरु कुराले साथ दियो भने आयोजना बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालियो ।

त्यसपछि क्लिन इनर्जीलाई थप अध्ययनका लागि जिम्मेवारी दियौं । १ हजार ४ सय मिटरको हेड हुने गरी विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लियौं । सुरुमा १ सय मेगावाटको हुने प्रक्षेपण थियो । त्यहिबिचमा संखुवासभामा साढे ४ मेगावाटको बरुण हाइड्रो निर्माणको चरणमा थियो । सानो आयोजना बनाउँदै गरेका हामीलाई १ सय मेगावाटको आयोजना बनाउनु कम जोखिम थिएन् ।

पुँजी, प्रबिधि, अनुभवका कारण पनि यति ठुलो आयोजना बनाउन चुनौतीपुर्ण हुने निष्कर्षसहित हामीले सुपरदोर्दी क र सुपर दोर्दी ख आयोजनाका रुपमा यसलाई विभाजित गरेका थियौं । माथिल्लो आयोजनालाई सुपरदोर्दी क भन्यौं र तल्लोलाई सुपरदोर्दी ख भन्यौं । पहिले तल्लो आयोजना बनाउन निर्णय गरियो । त्यतिबेला यो २१ मेगावाटको थियो । पछि थप अध्ययन गर्दा ४९.६ मेगावाटका हुने देखियो । आजको अवस्थामा भने निर्माणको चरणमा पुगेको छ ।

कहिलेसम्म सकिन्छ सुपरदोर्दी ख आयोजना ?

हाम्रो लक्ष्य भनेको २०७६ भित्र निर्माण सम्पन्न गर्ने हो । तर प्रसारणलाइनका कारण हामी अझै सशंकित छौं । हाम्रो प्रसारणलाइन दोर्दी करिडोरकै कीर्तिपुरमा छ । त्यहाँसम्म हामीले लगेर जोड्ने हो । त्यो उदिपुरमा २२० केभिको प्रसारणलाइनमा जोडिन्छ जसलाई मर्स्याङदी करिडोर भनिन्छ । यो भर्खरै बोलपत्र मूल्यांकनको चरणमा पुगेको छ । प्रसारणलाइन २ बर्षभित्रमै निर्माण सम्पन्न नहुने त होइन भन्ने हामीलाई आशंका छ । त्यसैले हाम्रो कामको गति पनि त्यति धेरै तिब्र भएको छैन् ।

सुपर दोर्दी ख को कति प्रतिशत काम सकियो ?

हामी अहिले पुर्वाधारको काम गरिरहेका छौं । ३० किलोमिटरको बाटो निर्माण सम्पन्न भयो । विद्युत्गृहदेखि मुहानसम्म ११ किलोमिटर बाटो पर्छ । क्याम्पहरु निर्माण सम्पन्न भए । निर्माणका लागि आवश्यक ऊर्जा पुर्याउने काम सम्पन्न भयो । २ वटा सुरुंग खन्ने काम सुरु भइसकेको छ ।

विद्युतगृहको निर्माण पनि सुरु भैरहेको छ । चार वटा प्याकेज बनाएर काम सुरु गरेका थियौं । हेड वक्र्स, एचारडी र पावर हाउसको लागि टेण्डर भैसक्यो । २ वटा ठेकेदारले काम पनि सुरु गरिसकेका छन् । एउटा ठेकेदार पनि तिहारपछि नै काममा खटिनेछन् ।
उदिपुरबाट निर्माणका लागि ऊर्जा लगेका छौं । प्रतिशतमा ठ्याक्कै भन्न त मुस्किल छ । तर पुर्वाधारका धेरै काम सम्पन्न भैसकेका छन् । हामीले ०७६ चैतबाट बढाएर ०७७ असारमा सम्पन्न गर्ने कार्यतालिका बनाएका छौं ।

भूकम्पले पनि हामीलाई धेरै समय काम गर्न दिएन् । भारतीय नाकाबन्दीले पनि त्यस्तै समस्या पार्यो । हाम्रो चासो भनेको प्रसारणलाइन नै हो । यो करिडोरमा २ सय मेगावाटका आयोजना धमाधम निर्माण भैरहेका छन् । विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान देला भन्ने अपेक्षा हो ।

आयोजनामा लगानीको जोहो कसरी गर्नुभयो ?

त्यसबेला निजी क्षेत्रले बनाउन लागेको सबै भन्दा ठुलो आयोजना यहि थियो । हामीले विदेशी लगानी भित्र्याउने प्रयास पनि गरेका थियौं । अन्तिममा नविल बैंकको नेतृत्वमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंकसँग लगानी सम्झौता गरेका छौं ।

साढे ८ अर्ब रुपैयाँको आयोजना भएकाले लगानी जुटाउन चुनौतीपुर्ण थियो । यसमा ऋण त जुटेको थियो तर इक्वीटी जुटाउनु पनि अर्काे चुनौती थियो । हामीले देश विदेशमा रहेका नेपालीका बिचमा आयोजनाबारे ब्यापक प्रचार गर्यौं । धेरैले लगानी कसरी जुटाउँछन भनेर चिन्ता जनाएका थिए । तर हामीले लमजुङका नागरिकको संस्थापक सेयरमा लगानी जुटाउन सफल भयौं ।

लमजुङ जिल्लामा त्यतिबेला स्थानिय विकास अधिकारीको नेतृत्वमा १ हजार मेगावाट विद्युत उत्पादन गर्न राजनीतिक दलका प्रतिनिधी सहभागी समिति बनाएका रहेछन् । त्यो समितिमा स्वतन्त्र उर्जा उत्पादकहरुको तर्फबाट म आफैं सहभागी थिए । त्यतिबेला जिल्लाका मानिसले संस्थापक सेयरमा लगानी गर्नुपर्छ भन्ने चेतना नै थिएन् । पिपुल्स हाइड्रोले बनाउने सुपर दोर्दी ख मा १० प्रतिशत सेयर लमजुङ जिल्लाका लगानीकर्ताका लागि सुरक्षित गरिदियौं । उहाँहरुको माग भने २० प्रतिशत हुनुपर्छ भन्ने थियो । हामीले १० प्रतिशत लगानीका रुपमा २४ करोड सुरक्षित गरिदियौं ।

त्यसका लागि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी बनायौं र त्यहि मार्फत लमजुङका नागरिकले २७ करोड रुपैयाँ लगानी गरे । हामीले अब आयोजना प्रभावित स्थानियका लागि १० प्रतिशत सेयर दिन्छौं । त्यो भन्दा अघि नै १० प्रतिशत भन्दा बढि लगानी लमजुङबासीले गरिसकेका छन् । आयोजना बन्ने ठाउँमा ५४ वटा घर छन्, ५० घरले आयोजनाको संस्थापक सेयरमा लगानी गरेका छन् ।

आयोजनाले सर्वसाधारणलाई सेयर कहिले ल्याउदै छ ?

हामीले २० प्रतिशत आइपिओ सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएका छौं । आगामी साउनमा आइपिओ निकाल्ने भन्ने थियो तर त्यो अलि नसकिने भयो । धेरै लगानीकर्ता छन्, अहिलेसम्म हामी प्रालीकै रुपमा रहेका छौं । १ हजार ६ सय भन्दा धेरै लगानीकर्ताको कागजात जुटाएर काम गर्न समय लाग्नेछ । हामीले ७५ लाख कित्ता आइपिओ जारी गर्छौ ।

सुपर दोर्दी क चाँही कहिलेबाट सुरु हुन्छ ?

हामीले त्यसको नाम हिमचुली दोर्दी नामाकरण गरेका छौं । यो ५७ मेगावाटको आयोजना हो । यो आयोजना अध्ययनको चरणमा छ । विज्ञहरुको नेतृत्वमा अध्ययन गरिरहेका छौं । सर्वेक्षण अनुमतिपत्र लिने चरणमा पुगिसकेका छौं । यो आयोजनालाई साँझको बिजुली माग धान्न सक्ने गरी अर्धजलासययुक्त आयोजना बनाउन सक्छौं की भनेर पनि हेरिरहेका छौं ।

यसमा लगानीको मोडल कस्तो हुन्छ ?

यसमा पनि लगानीको मोडल भने सुपरदोर्दी ख कै जस्तो हुनेछ । पिपुल्स हाइड्रो आफैंले केहि सेयर राख्छ । यसका सेयरधनीहरुले चाहेको खण्डमा लगानी गर्न सक्नेछन् ।

अब प्रसंग बदलौं, ७ बर्षे यात्रामा जनता बैंक अवस्था राम्रो देखिएन, किन ?

तपाईले भन्नु भएको कुरा केहि पुरानो हो । आज हामीबिच कुरा भैरहेका बेला जनता बैंकको अवस्था सुधार हुँदै गैरहेको छ । वित्तिय संस्था भनेको विश्वासमा अघि बढ्ने रहेछ । हामी कहिले आन्तरिक हिसाबले पनि केही कुरामा रुमलिएका रहेछौं । जनता बैंक मुलतः दुई वटा कुरामा मुछियो । नेपाल सेयर मार्केटमा १८ करोडको अन्तर बैंक कर्जा र एनडिएफ भनेर डलर किनेका थियौं ।

एक्कासी डलरको भाउ बढेकाले पनि नोक्सानी भयो । डलरबाट करिब १३ करोड नोक्सानी भयो । एक बर्ष सेयर मार्केट्सको अन्तर बैंक कर्जाको समस्यामा पार्यो भने अर्काे एक बर्ष डलरको खरिदले पनि समस्या पार्यो । त्यस बाहेक छिटोछिटो सिइओको फेरबदलमा पनि जनता बैंक मुछियो । जब पुँजी वृद्धिको योजना आयो तब जनता बैंकले नयाँ मोड लियो ।
हामीसँग ८३६ संस्थापक सेयरधनी थिए स्थापना कालमा । उनीहरुले ५,६ बर्षसम्म केहि प्रतिफल नपाउँदा बजारमा नराम्रो सन्देश गएको थियो । पुँजी वृद्धिको योजनापछि हामीले हकप्रद सेयर, बोनस, मर्जर र एक्विजिसन गर्न बाटो खुल्ला गरेका थियौं । माछापुच्छ्रे बैंकसँगको मर्जरको कुराले पनि करिब ६।७ महिना भुलायो । त्यो मर्जर नहुने भएपछि हामीले फेरी नयाँ ढंगले सोच्यौं ।

हकप्रदबाट पुँजी पुर्याउने भन्नेबारे व्यापक छलफल भयो । हकप्रदले पुँजी पुर्याउन त सकिन्छ तर बजार पाइँदैन भन्ने निष्कर्ष निकालियो । अन्तिममा केहि हकप्रद सेयर निकाल्ने र केहि पुँजीका लागि मर्जर वा एक्विजिसनमा जाने निर्णय गरियो । त्रिवेणी विकास बैंकसँग मर्जर गरेर ५० प्रतिशत हकप्रद सेयर जारी गर्यौं ।

अझै ६५ प्रतिशत पुँजी अपुग थियो, त्यसकारण फेरी पनि उपयुक्त वित्तिय संस्थाको खोजी गरियो मर्जर वा एक्विजिसनका लागि । सोही क्रममा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरियो । अहिले बैंकको १ सय शाखा पुग्नै लागेको छ । हजारको हाराहारीमा कर्मचारी छन्, ५० अर्ब रुपैयाँको निक्षेप परिचालन, ४६ अर्ब रुपैयाँ कर्जा लगानी पुगेको छ ।

अब हामी १ अर्ब रुपैयाँ नाफा गर्ने बैंकको सूचिमा पुगिसकेका छौं । हामी ६ अर्ब ९९ करोड पुँजी पुर्याएर बसेका छौं । अब बोनस सेयरबाटै ८ अर्ब पुँजी पुर्याउने योजना छ । त्यसको अर्थ अब १०१ करोडको बोनस सेयर आउँछ । अब जनता बैंक राम्रो मात्रै हुन्छ, नराम्रा दिनहरु समाप्त भैसके । सेयरधनीलाई उचित प्रतिफल, सेवाग्राहीलाई राम्रो सेवा, राम्रो राजश्व बुझाउने, कर्मचारीको तलब सुबिधा राम्रो दिने बैंकका रुपमा अब बैंक स्थापित हुन्छ ।

८ अर्बको पुँजी पुग्नै लागेको बैंकको डिपोजिट ५० अर्बको हाराहारीमा देखिन्छ, बजार कसरी बढाउने योजना छ ?

८ अर्ब रुपैयाँ पुँजीमा ५० अर्ब रुपैयाँ डिपोजिट भनेको थोरै हो । बजार पनि बढाउनु पर्छ भनेर नै हामी मर्जर र एक्विजिसनमा गएका हौं । २ वटा विकास बैंक मिसिएपछि ग्रामिण क्षेत्रमा शाखा सञ्जाल राम्रो विस्तार भएको छ । कृषिमा बिशेष ध्यान दिएका छौं । नयाँ प्रदेशिक संरचना अनुसार शाखा विस्तार अभियान अघि बढाएका छौं । हामीले अब प्रोजेक्ट फाइनान्सिङ सुरु गर्छाै । कुन क्षेत्रमा के बिजनेशमा लगानी गर्ने र त्यसको के सम्भावना छ भनेरै अध्ययन गरिरहेका पनि छौं यतिबेला । अब व्यवसाय विस्तार पनि आक्रामक रुपमा अघि बढ्छ ।

मर्जर र एक्विजिसनपछि कर्मचारी व्यवस्थापनमा समस्या आएको भनिन्छ, कुरा के हो ?

मर्जर र एक्विजिसनपछि लगानीकर्ताले भने सहजै स्विकार गरेको देखिन्छ । धेरै भयो भने एउटा साधारण सभासम्म गुट बनाउँछन नत्र आफैं मिल्छन् । तर कर्मचारीमा त्यस्तो सम्भावना अलि कम हुने रहेछ । बर्षाैदेखि सँगै काम गरेका कर्मचारीहरु तुरुन्तै नयाँसँग मिलेर काम गर्न कठिन हुने रहेछ । बाणिज्य बैंक र विकास बैंकको काम गर्ने शैली पनि फरक फरक हुने रहेछ । कर्मचारीहरुलाई घुलमिल गराएर नयाँ संस्कृतिमा काम गर्ने वातावरण बनाउन भने केहि समय लाग्ने रहेछ । पोर्टफोलियोका सवालमा भने हामी कहाँ कुनै समस्या छैन् ।

पुँजी पर्याप्तता प्रशस्तै रहेछ, किन उपयोग हुन सकेन ?

हामीले व्यवसाय विस्तारको अवसरलाई यथेष्ठ सदुपयोग गर्न नसकेको सत्य हो । असार मसान्त २ दिन बाँकी रहँदा सिद्धार्थलाई एक्विजिसन गरेका हौं । कर्मचारी व्यवस्थापन, शाखा व्यवस्थापन, हिसाब मिलान लगायतका काममा हाम्रो ध्यान धेरै गयो । अब भने सबै कुरा मिलिसके । अब निर्धक्क भएर व्यवसाय विस्तारमा लाग्नेछौं ।

आगामी बर्षमा जनता बैंक कुन पोजिसनमा आउँछ ?

हामी टप १० भित्र त भन्न सक्दैनौं तर टप १५ बैंक भित्र आईसक्छौं । प्रतिफल दिने कुरा तरलताले पनि ठुलो भूमिका खेल्ने रहेछ । ६÷६ महिनामा तरलताको अवस्था परिवर्तन हुँदै आएको छ । लगानीकर्तालाई दिने प्रतिफलको कुरा गर्ने हो भने हामी नयाँ बैंक भएकाले पनि पुराना बैंकसँग तत्काल तुलना गर्नु उपयुक्त हुन्न , तर पनि १०÷१५ प्रतिशतका लाभांश दिन हामीलाई कुनै समस्या हुन्न ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.