बेनीमा अल्लो कपडा उद्योग स्थापना

  २०७४ असोज १८ गते १५:१३     विकासन्युज

बाबियाचौर । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ ।

दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गर्नुभएको हो । रघुगंगा गाउँपालिका–३ पिप्लेका खोजेन्द्रबहादुर मल्लले मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट उद्योग खोलेका हुन् ।

उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवालाई प्रशोधन गरी कपडा उत्पादन गर्ने उद्योग स्थापना गरेको मल्लले बताए । इपिएस भिसामा पाँच वर्ष दक्षिण कोरियामा काम गरेर गतवर्ष स्वदेश फर्किएका मल्लले स्थानीयस्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए ।

पहिलो चरणमा अल्लो प्रशोधनको काम शुरु गरेको उद्योगबाट नेपाली हाते कागज र बाँसको सामान पनि उत्पादन गर्ने योजना रहेको छ । प्रबन्ध सञ्चालक मल्लका अनुसार हालसम्म कच्चा पदार्थ खरिद र प्रशोधनका लागि करिब ६ लाख रुपैयाँ लगानी भएको छ ।

“पुँजीवृद्धी, आधुनिक औजारको प्रयोग गरेर व्यवस्थित रुपमा उद्योग सञ्चालन गर्ने तयारी भएको छ” मल्लले भने “अहिले परम्परागत रुपमा गरिँदै आएको कामलाई औजार ल्याएपछि आधुनिक बनाउछौँ ।” औजारको प्रयोग गरेपछि उत्पादन वृद्धि र लागत घट्ने जनाइएको छ ।

उद्योगमा बेनी नगरपालिका दुई बगरफाँटका १५ जनाले रोजगारी पाएका छन् । गुर्जा, मुदी, लुलाङ, कुइनेमंगले, मल्कवाङ, ओखरबोट, देविस्थान, दरवाङलगायत उच्च पहाडी क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा संकलन गरेर धागो र कपडा बनाउन शुरु गरिएको छ ।

अल्लो पुवा प्रशोधन गरेर तयार पारिने धागोबाट कोट, झोला, आउटर, सल, थान्का लगायतका सामग्री उत्पादन गर्न सकिन्छ ।

काठमाडौं, पोखरा, चितवन, मुस्ताङलगायत पर्यटकीय स्थल, सहरी क्षेत्र र विदेशी बजारमा अल्लो पुवाको सामान बिक्री हुने गरेको छ । गर्मीमा शीतल, जाडोमा न्यानो र टिकाउ हुने भएकाले विशिष्ठ व्यक्तिले अल्लोको कपडा प्रयोग गर्ने क्रम बढेको छ ।

बेनीमा अल्लोको कपडा निर्माण गर्दै आउनुभएकी उद्यमी नेकसरा पुनले अल्लो प्रशोधनका लागि जिल्लामा हालसम्मकै ठूलो क्षमत्ताको उद्योग सञ्चालन भएको बताए ।

उद्योगमा कार्यरत बेनपा–२ की बिना शाहीले उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर मिलेको बताए । उद्योगले महिला र पुरुषका लागि समान ज्याला दिने गरेको छ ।

खाजाको व्यवस्था गरिएको र दैनिक ५ सय रुपैयाँ ज्याला दिने गरिएको छ । आफूहरुका लागि चर्खाबाट धागो र तानमा कपडा बुन्ने सीपमूलक तालीमको आवश्यकता रहेको मजदुरले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.