ऊर्जा आपूर्ति र वैदेशिक लगानीमा आएको सुधारले यो वर्ष पनि औद्योगिक उत्पादन बढ्ने

  २०७४ असोज ६ गते १६:३९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको औद्योगिक उत्पादनमा वृद्धि हुने भएको छ ।  उर्जा आपूर्तिमा सुधार, आपूर्ति व्यवस्थामा सहजता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा भएको वृद्धिले अपेक्षा अनुरुप औद्योगिक क्षेत्रको वृद्धिदर हासिल गर्न सहयोग पुग्ने अनुमान छ ।

यो वर्ष पनि लोडसेडिङ नहुने भएपछि औद्योगिक क्षेत्र विस्तार हुने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ । यस्तै स्थानीय तहको निर्वाचन सफलता पूर्वक सम्पन्न भएकाले यसबाट पनि औद्योगिक वातावरणमा सुधार भएको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ ।

नियमित रुपमा बिजुली आपूर्ति भएपछि गत वर्ष औद्योगिक उत्पादन बढेर १०.९ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षमा यो दरमा औद्योगिक उत्पादन नबढे पनि सकरात्मक हुने विश्व बैंकले बताएको छ ।

बैंकले यो वर्ष औद्योगिक उत्पादन ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यो लक्ष्य पुरा नहुने विश्व बैंकले भनेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार साउनको समष्टिगत आर्थिक तथा वित्तीय परिदृश्य सार्वजनिक गर्दे अत्याधिक मनसुनी वर्षाले सृजना गरेको बाढी पहिरो तथा डुवानले कृषिजन्य वस्तुमा ठूलो क्षति पुगेको सुरुमा गरेको आंकलन गरे पनि सो भन्दा क्षति कम रहने अनुमान गरेको छ ।

वर्षाका कारण तराईका अधिकांश जिल्लाहरुमा कृषि पुर्वाधार लगायतका सम्पत्तिमा क्षति पुगेको छ । मनसुन समयमै सुरु भएको, पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेको, कृषिजन्य उत्पादनका साधनको उपलब्धता सहज रहेको तथा बाढीको क्षतिबाट उत्पन्न हुने असर न्यूनीकरण गर्न सरकारबाट पहल भइरहेकोले कृषि क्षेत्रमा पर्ने असर न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यस्तै पर्यटक स्तरीय होटलको बेड अकुपेन्सी दरमा गत अवधिको तुलनामा उल्लेख्य सुधार भई करीव ७५ प्रतिशत पुगेको छ । पर्यटकीय सिजन शुरु हुनु अगावै त्यस्ता होटेलको बुकिङ्ग दर ५० प्रतिशत पुगिसकेकाले उक्त क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने राष्ट्र बैंकको अनुमान छ ।

चालु आव ०७४/०७५ को बजेटले स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको र स्थानीय तहलाई ठूलो रकम वित्तीय हस्तान्तरण गरिएकाले यसबाट चालु आर्थिक वर्षमा पुँजीगत खर्च वृद्धि हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समयमा विकसित यो परिस्थितिले आगामी दिनमा देशव्यापी रुपमा आर्थिक गतिविधिहरु चलायमान बन्ने र फराकिलो आधारसहितको समावेशी आर्थिक वृद्धि हासिल हुने अनुमान राष्ट्र बैंकको छ ।

समीक्षा महिनामा सरकारी राजस्व लक्ष्यभन्दा कम संकलन भएको छ । बस्तु निर्यात घटेको कारण व्यापार घाटा बढ्न गएको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै ऋणात्मक रहेका छन् । ३ अर्ब रुपैयाँ भन्दा बढी शोधानान्तर घाटाले व्यवस्थापनमा थप चुनौति ल्याउने ठहर केन्द्रीय बैकको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.