मूल्यवृद्धि घटेर २.३ प्रतिशतमा सीमित, राजधानीमा सबैभन्दा कम

  २०७४ असोज ६ गते १४:४७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धि दर घटेको छ ।  गत साउनमा उपभोत्ता मुल्यवृद्धि दर घटेर २.३ प्रतिशत कायम भएको छ । अघिल्लो महिना असारमा मूल्यवृद्धि दर २.७ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.६ प्रतिशत थियो ।

गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत थियो ।
खाद्यसमूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३, तरकारीको मूल्यमा ११.७, मसलाको मूल्यमा ३.५ र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

गैर–खाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

क्षेत्रगत उपभोक्ता आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६, तराईमा २.८, पहाडमा २.२ र काठमाडौं उपत्यकामा १.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१, तराईमा ८.५, पहाडमा १०.९ र काठमाडौं उपत्यकामा ७ प्रतिशत थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर घटेर १.१ प्रतिशतमा सीमित भएको छ । नेपालमा २.३ र भारतको ३.४ प्रतिशत रहेकाले यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ र ५.१ रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ३.५ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.