टेलिकमको ‘वाउटाइम’ एप्स सञ्चालनमा, लाइभ टिभी तथा भिडियो हेर्न सकिने

  २०७४ असोज ३ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो नयाँ  ‘वाउटाइम’ एप्स आज(असोज ३ गते)बाट सञ्चालनमा ल्याएको छ । उक्त एप्स मार्फत टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।

नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी, विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिने टेलिकमले जनाएको छ ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

टेलिकमका अनुसार मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.