हिउँदमा रासायनिक मलको अभाव नहुने, साल्ट ट्रेडिङले साढे ५२ हजार टन मल ल्याउँदै

  २०७४ असोज १ गते १७:०१     पवन तिमिल्सिना

काठमाडौं । यसपाली हिउँदमा खेति लगाउनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । आउदो हिउँदलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल आयातको तयारी थालेको छ ।

हिउँदे बालीलाई लक्षित गरेर साल्ट ट्रेडिङलेले साढे ५२ हजार टन मल ल्याउनेका लागि आइतबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरेको छ । आगामी कात्तिकसम्ममा मलको अभाव हुन नदिन कर्पोरेशनले मलको लागि टेन्डर आह्वान गरेको हो ।

कर्पोरेशनले २० हजार टन डिएम्मोनियम फोस्फेट र साढे ३२ हजार टन युरिया मलका लागि छुट्टा छुट्टै टेण्डर आह्वान गरेको छ । मलको अभाव नहोस् भन्दै प्रत्येक चार महिनाको फरकमा कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले आलोपालो गरेर मल आयात गरिरहेको कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । उनले भने, ’यो नियमित प्रक्रिया हो । आलोपालो गरेर मल आपूर्ति भइरहेको छ ।’

आयात गर्न चाहने कम्पनीले असोज ३० गतसेम्ममा बोलपत्र (आफ्नो विवरण सहितको कागजात) पेश गर्नुपर्ने छ । एलसी (लेट अफ क्रेडिट) खोलेको एक महिनाभित्र मल आयात गरिसक्नु पर्ने बोलपत्रमा उल्लेख छ ।

भण्डारीका अनुसार २७ हजार ५ सय टन युरिया मल भारतको बिसाखापटनम बन्दरगाहमा आइपुगेको छ । आयातित मल मध्ये वीरगञ्ज, विराटनगर र भैरहवा लगायतका जिल्लामा परिचालन गरिने उनले जानकारी दिए ।

‘कर्पोरेशनले झिकाएको मल कलकत्ता बन्दरगाहबाट नेपाल आउने क्रम सुरु भएको छ,’ उनले थपे ।
वाली लगाउने सिजनमा जहिले पनि किसानले मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष समयमा बोलपत्र आब्हान गरिएकाले मलको अभाव नहुने देखिएको छ । नेपालमा वार्षिक ७ लाख टन मलको आवश्यकता हुने गरेको छ । आपूर्ति ५ लाख टन मात्र हुदा बजारमा मलको अभाव हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.